धनगढी । खाना पकाउने एलपिजी ग्यासको आयातमा साउनमा रेकर्ड नै कायम भएको छ । साउनमा एक महिना अवधिमा हालसम्मकै सबैभन्दा धेरै ५४ हजार पाँच सय पाँच टन ग्यास आयात भएको छ ।
ग्यासको उच्च आयातका बाबजुद उपभोक्ताले भने एक थान सिलिन्डरका लागि चर्को घाम र साउने झरीको सामना गर्दै लामो लाइनमा बस्न बाध्य भएका छन् । साउनमा आयात भएको ग्यास परिमाणले ३८ लाख ३८ हजार चार सय १० थान ग्यास भरेर बजार पठाएको आयल निगमले जनाएको छ । जबकि, सामान्य अवस्थामा मुलुकभर मासिक ३० लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ ।
सामान्य अवस्थाको तुलनामा बढी ग्यास आयात भए पनि बजारमा आपूर्ति असहज हुनुमा ३१ असारदेखि पूर्ण तौलको सिलिन्डर लागू गर्ने निर्णय नै मुख्य कारण रहेको आयल निगमको पूर्वकार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

