धनगढी । करोडौँ रुपियाँ खर्च गरेर पुनर्निर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थलभन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्बिर बनाउने थलोका रूपमा प्रयोग हुन थालेको छ । विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावनमार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लालाई हवाईसेवामार्फत जोड्ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उडान नहुँदा राज्यको करोडौँ रुपियाँ लगानी उपयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
२०५२ सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण २०७३ सालतिर सुरु गरिएको थियो । करिब ११ करोड रुपियाँको लागतमा २० मिटर चौडाइ र ५८० मिटर लम्बाइको धावनमार्ग, विमानस्थल टावर तथा कार्यालयलगायतका संरचना निर्माण गर्ने गरी सम्झौता भएको थियो । सम्झौता अनुसार करिब चार वर्षमा पुनर्निर्माणको काम सम्पन्न पनि भयो ।
पुनर्निर्माण पूरा भएपछि विमानस्थल २०७७ असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । त्यसपछि करिब दुई वर्षसम्म निजी क्षेत्रको समिट एयरले धनगढीबाट बैतडीको पाटनसम्म साप्ताहिक उडान गर्दै आएको थियो तर पछिल्लो करिब पाँच वर्षदेखि नियमित उडान हुन नसक्दा विमानस्थल प्रयोगविहीन जस्तै बनेको छ ।

