दिनेश बिष्ट, धनगढी: सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको संख्या वर्षेनी बढ्दै गएको तथ्यांकले देखाएको छ। पछिल्ला तीन आर्थिक वर्षमा मात्र प्रदेशभर भएका सवारी दुर्घटनामा परी ५ सय ६९ जनाले ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी नागरिक घाइते भएका छन्। दुर्घटनाको बढ्दो क्रमले सडक सुरक्षाप्रति गम्भीर चुनौती थपिएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभर ३ सय ९ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा १ सय ७२ जनाको मृत्यु भएको थियो भने ५ सय ३६ जना घाइते भएका थिए। सोही वर्ष ट्राफिक प्रहरीले ७३ हजार ४ सय ७९ वटा सवारी साधनलाई कारबाही गर्दा ४ करोड ८९ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। मदिरा सेवन (मापसे) गरेर सवारी चलाएको आरोपमा ३ हजार ९ सय १८ जना कारबाहीमा परेका थिए।
आर्थिक वर्ष २०८१/८२ मा दुर्घटनाको संख्या उल्लेख्य रूपमा बढ्यो। उक्त वर्ष १ हजार २ सय ३ वटा सवारी दुर्घटना हुँदा १ सय ९२ जनाले ज्यान गुमाए भने २ हजार ४ जना घाइते भए। सो वर्ष ६१ हजार ५ सय ७६ वटा सवारी साधन कारबाहीमा पर्दा ४ करोड ४१ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। मापसे गरेर सवारी चलाउने ३ हजार ९ सय ३१ जनालाई कारबाही गरिएको थियो।
गत आर्थिक वर्ष २०८२/८३ मा दुर्घटनाको संख्या अझै बढेर १ हजार ४ सय ७३ पुगेको छ। ती दुर्घटनामा २ सय ५ जनाको मृत्यु भएको छ भने २ हजार ५ सय ४३ जना घाइते भएका छन्। सोही अवधिमा ३९ हजार २ सय १२ वटा सवारी साधन कारबाहीमा पर्दा ३ करोड १८ लाख ८५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ। मापसेमा ३ हजार ६ सय ४१ जना तथा लागू पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने ५६ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ।
तीन वर्षको तथ्यांकलाई हेर्दा दुर्घटनाको संख्या निरन्तर बढिरहेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८२/८३ सम्म आइपुग्दा दुर्घटनाको संख्या झण्डै पाँच गुणाले बढेको छ। यस अवधिमा कुल २ हजार ९ सय ८५ वटा दुर्घटना हुँदा ५ सय ६९ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ८३ जना घाइते भएका छन्। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका सूचना अधिकारी मनिराम भट्टका अनुसार अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका छन्। उनका अनुसार सुदूरपश्चिममा मापसे गरेर सवारी चलाउने प्रवृत्ति अझै उच्च रहेकाले दुर्घटना न्यूनीकरणमा चुनौती थपिएको छ।
दुर्घटनाका मुख्य कारणमध्ये चालकको असावधानी, तीव्र गति, ओभरटेक गर्ने गलत प्रवृत्ति, मापसे गरेर सवारी चलाउनु तथा ट्राफिक नियमको पालना नगर्नु प्रमुख हुन्, भट्टले भने, यसका साथै कतिपय स्थानमा सडकको अवस्था कमजोर हुनु, साँघुरा सडक, जोखिमयुक्त मोड तथा आवश्यक पूर्वाधारको अभावले पनि दुर्घटना बढाइरहेको छ। उनका अनुसार ट्राफिक प्रहरीले नियमित रूपमा सचेतनामूलक कार्यक्रम, सवारी जाँच, मापसे परीक्षण तथा नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गर्दै आएको भए पनि दुर्घटना अपेक्षाअनुसार घट्न सकेको छैन।
सडक सुरक्षाका जानकारहरूका अनुसार दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कडाइका साथै सडक पूर्वाधार सुधार, चालकलाई नियमित तालिम, सार्वजनिक यातायातको प्रभावकारी अनुगमन तथा नागरिकमा सडक सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि आवश्यक छ।
सूचना अधिकारी भट्टले दुर्घटना रोकथाममा सरकार वा ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै प्रत्येक नागरिक स्वयं जिम्मेवार बन्नुपर्ने बताए। सवारी चलाउँदा ट्राफिक नियम पालना गर्ने, हेल्मेट र सिटबेल्ट अनिवार्य प्रयोग गर्ने, मापसे वा लागू पदार्थ सेवनपछि सवारी नचलाउने र गति नियन्त्रणमा राख्ने बानी बसाल्न सके दुर्घटनाको संख्या उल्लेख्य रूपमा घटाउन सकिन्छ, उनले स्टेटसेभेनसगं भने। सुदूरपश्चिममा बढ्दो सवारी दुर्घटनाले सडक सुरक्षालाई गम्भीर चुनौतीका रूपमा उभ्याएको छ। दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न राज्य, ट्राफिक प्रहरी, स्थानीय तह, यातायात व्यवसायी र सर्वसाधारण सबै पक्षको साझा जिम्मेवारी र सक्रियता अपरिहार्य देखिएको छ।

