डडेल्धुरा — वर्षायाम सुरु भएसँगै डडेल्धुरा अस्पतालमा बिरामी बालबालिकाको चाप बढेको छ । दूषित खानेपानी, वर्षायामसँगै फैलिने भाइरल संक्रमण र सरसफाइमा आउने कमीका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, निमोनिया, टाइफाइड, स्क्रब टाइफस र हैजाजस्ता समस्याबाट पीडित बालबालिका दैनिक उपचारका लागि अस्पताल पुग्न थालेका हुन् । अस्पतालका चिकित्सकहरूका अनुसार पछिल्ला केही सातायता ओपीडीमा आउने बालबालिकाको संख्या सामान्य अवस्थामा भन्दा दोव्बरले बढेको छ ।
संघीय सरकार मातहत सञ्चालित डडेल्धुरा अस्पतालमा अन्य समयमा दैनिक औसत ४० बालबालिका ओपीडी सेवामा उपचारका लागि आउने गरेका थिए । तर वर्षायाम सुरु भएपछि यो संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । बिहानैदेखि बालबालिकालाई काखमा बोकेर अस्पताल पुग्ने अभिभावकको भीड देखिन थालेको छ । अधिकांश अभिभावक ज्वरो, खोकी, झाडापखाला र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बालबालिका लिएर अस्पताल आउने गरेका छन् ।
अमरगढी नगरपालिका–४ की विमला भाटले एक सातादेखि रुघाखोकी र ज्वरोले बिरामी भएको आˆनो बच्चालाई पटक–पटक अस्पताल ल्याउनुपरेको बताइन् । ‘बच्चालाई एक सातादेखि रुघाखोकी र ज्वरो आएको थियो । पहिलो पटक अस्पताल ल्याउँदा औषधि दिएर पठाइयो । सन्चो नभएपछि फेरि ल्याउँदा बाफ लगाउन सल्लाह दिएर घर पठाइएको छ,’ उनले भनिन्, ‘तर, बच्चाको स्वास्थ्यमा सुधार नआएपछि फेरि अस्पताल ल्याएकी हुँ ।’
वर्षायाममा बालबालिकाको स्वास्थ्य अवस्था छिट्टै बिग्रने भएकाले सामान्य लक्षण देखिँदा पनि अभिभावक चिन्तित हुने गरेको उनको अनुभव छ ।
अजयमेरु गाउँपालिका–२ की कलावती भाँण पनि बिरामी बच्चालाई ल्याएर अस्पताल पुगेकी हुन् । तर, जिल्लामै बालरोग विशेषज्ञ उपलब्ध हुँदा उपचार सहज भएको उनले बताइन् । पहिले सामान्य उपचारका लागि पनि धनगढी वा अन्य जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेकामा अहिले डडेल्धुरा अस्पतालमै विशेषज्ञ सेवा पाउँदा समय र खर्च दुवै बचत भएको उनको भनाइ छ । अस्पतालमा बालरोग विशेषज्ञ चिकित्सक उपलब्ध भएकाले उपचारमा सहज भएको बताउँदै उनले यस्तो सेवा निरन्तर रहिरहे अझ राम्रो हुने अपेक्षा गरिन् ।
डडेल्धुरा अस्पतालका बालरोग विशेषज्ञ डा. सुभाष पन्थीका अनुसार वर्षायामसँगै भाइरल संक्रमण र पानीजन्य रोगका बिरामी उल्लेख्य रूपमा बढेको छन् । अस्पतालमा आउने अधिकांश बालबालिकामा भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, टाइफाइड, स्क्रब टाइफस, हैजा र झाडापखालाजस्ता समस्या देखिने गरेको उनले बताए ।
उनका अनुसार विगतमा दैनिक ४०—५० बालबालिका ओपीडीमा आउने गरेकामा अहिले त्यो संख्या बढेको छ । केही बालबालिकामा निमोनिया तथा अन्य जटिल समस्या देखिएकाले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गर्नुपर्ने अवस्था पनि आउने गरेको उनले जानकारी दिए ।
डा. पन्थीका अनुसार वर्षायाममा खानेपानीका मुहान दूषित हुने, खुला रूपमा फोहोर व्यवस्थापन हुने, सरसफाइमा कमी आउने तथा संक्रमण सजिलै फैलिने वातावरण बन्ने भएकाले बालबालिका बढी जोखिममा पर्छन् । विशेषगरी पाँच वर्षमुनिका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले संक्रमण छिट्टै फैलिने र समयमै उपचार नपाए जटिल अवस्था सिर्जना हुन सक्ने उनले बताए । अभिभावकले ज्वरो, लगातार खोकी, झाडापखाला, बान्ता वा सास फेर्न गाह्रो हुने लक्षण देखिएमा घरमै औषधि सेवन गराएर बस्नुभन्दा तत्काल स्वास्थ्य संस्थामा लैजानुपर्ने उनको सुझाव छ ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले पछिल्ला वर्षमा अस्पतालको सेवा क्षमता विस्तार हुँदै गएको बताइन् । विशेषज्ञ चिकित्सक उपलब्ध भएपछि बालरोगसहित विभिन्न सेवामा सुधार आएको र विगतमा जस्तो चिकित्सक अभावका कारण उपचार प्रभावित हुने अवस्था नरहेको उनले बताइन् । बढ्दो बिरामीको चाप व्यवस्थापन गर्न अस्पतालले आवश्यक औषधि, शय्या व्यवस्थापन र स्वास्थ्यकर्मी परिचालनलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
उनका अनुसार डडेल्धुरा मात्र नभई बैतडी, डोटी, बझाङ र आसपासका क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् ।
मनसुन सक्रिय भएसँगै पानीजन्य र भाइरल रोगको जोखिम हरेक वर्ष बढ्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । बालबालिकामा सामान्य देखिने ज्वरो वा झाडापखालाले पनि समयमै उपचार नपाउँदा जटिल रूप लिन सक्ने भएकाले अभिभावक सचेत हुनुपर्नेमा चिकित्सकहरूको जोड छ ।

