धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्गप्रशस्त गर्दै राजीनामा दिन नेकपा र एमालेले दबाब बढाएका छन्। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुवै दलका सांसदहरूले संयुक्त रूपमा भेटेर नयाँ सत्ता समीकरणअनुसार नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन आग्रह गरेका हुन्।
गत साउन ३१ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। त्यसपछि एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार सुदूरपश्चिममा नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको छ। तर मुख्यमन्त्री शाहले राजीनामा नदिँदा सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन।
भेटका क्रममा नेकपा संसदीय दलका नेता खगराज भट्ट, उपनेता प्रकाश रावल, प्रमुख सचेतक खुशीराम चौधरी तथा अक्कल रावलसहितका सांसदहरूले राजनीतिक नैतिकता देखाउँदै राजीनामा दिन मुख्यमन्त्रीलाई आग्रह गरेका थिए। एमाले संसदीय दलकी उपनेता सन्तोष शर्मा थापाले पनि नयाँ सत्ता समीकरणको सम्मान गर्दै सरकार गठनको बाटो खुला गर्नुपर्ने धारणा राखिन्।
नेकपा संसदीय दलका नेता खगराज भट्टले सबै विषय समेट्दै अहिलेको आवश्यकता मुख्यमन्त्रीको राजीनामा नै भएको औँल्याएका थिए।
‘निर्वाचन लड्दा तपाईंको मुख्यमन्त्रीमा चर्चा नै थिएन। लामो समय प्रदेशको नेतृत्व गर्नुभयो। मलाई त दुई पूर्वप्रधानमन्त्रीले संयुक्तरूपमा मुख्यमन्त्री बनाउछु भन्नू भएको थियो ’ भट्टले विगत स्मरण गराए।
जवाफमा मुख्यमन्त्री शाहले तत्काल राजीनामा दिने वा विश्वासको मत लिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेनन्। बरु आफ्नो पक्षमा अझै राजनीतिक सम्भावना रहेको संकेत गर्दै सरकार टिक्ने आधार समाप्त नभएको दाबी गरेका थिए। छलफलमा सहभागी सांसदहरूका अनुसार शाहले कांग्रेस नेतृत्वसँगको परामर्श र केन्द्रको राजनीतिक अवस्थाबारे पनि चर्चा गरेका थिए।
करिब आधा घण्टा चलेको छलफल निष्कर्षविहीन बने पनि नेकपा र एमालेले मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न निरन्तर राजनीतिक दबाब दिने जनाएका छन्। अब मुख्यमन्त्री शाहको आगामी निर्णयसँगै सुदूरपश्चिम प्रदेशको नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने वा विश्वासको मतको प्रक्रियामा जाने भन्ने टुंगो लाग्ने देखिएको छ।

