धनगढी: आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने तथा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
महाशाखाले दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशका पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा पनि यस्तै प्रकारको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

