धनगढी: डोटीको जोरायल गाउँपालिका–२ बुडरस्थित छहरा (बुडर) झर्ना पछिल्लो समय सुदूरपश्चिमकै प्रमुख आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। तराईको अत्यधिक गर्मीबाट केही समय राहत लिन, प्राकृतिक सौन्दर्यको आनन्द लिन तथा परिवार र साथीभाइसँग रमाइलो गर्न आउने आन्तरिक पर्यटकका कारण झर्ना क्षेत्रमा दैनिक चहलपहल बढ्दो छ।
विशेषगरी सार्वजनिक बिदा, शनिबार तथा पर्व–उत्सवका अवसरमा झर्ना क्षेत्रमा पर्यटकको उल्लेख्य भीड लाग्ने गरेको छ। स्थानीयका अनुसार विदाका दिन मात्रै करिब १० हजारसम्म पर्यटक झर्ना अवलोकनका लागि पुग्ने गरेका छन्। कैलाली, कञ्चनपुर लगायतका जिल्लाका साथै छिमेकी प्रदेशबाट समेत पर्यटक आउने क्रम बढेको छ।
स्थानीय राजनीतिककर्मी डिल्ली भट्टका अनुसार पछिल्ला केही वर्षयता बुडर झर्नाको लोकप्रियता तीव्र रूपमा बढेको छ। “तराईका विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर, निजी सवारीसाधन तथा मोटरसाइकलमार्फत यहाँ आउनेको संख्या उल्लेख्य छ,” उनले भने, “विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिन हजारौँ पर्यटक पुग्ने गरेका छन्। यसले स्थानीय पर्यटनसँगै यहाँको व्यापार–व्यवसाय पनि चलायमान बनाएको छ।” झर्नाको चिसो पानीमा रमाउने, प्राकृतिक दृश्यको अवलोकन गर्ने, तस्बिर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा साझा गर्ने पर्यटकको आकर्षण दिनप्रतिदिन बढिरहेको छ। झर्नाको आसपासका हरियाली पहाड, चट्टानबाट खस्ने पानीको दृश्य र शान्त वातावरणले यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउने गरेको छ।
झर्नासम्म पुग्न सहज बनाउन कालोपत्रे सडक निर्माण भएपछि यात्रुहरूलाई आवतजावतमा ठूलो सुविधा भएको छ। सडकसँगै पार्किङ क्षेत्र, फोटो खिच्ने विशेष स्थान (भ्यू प्वाइन्ट), विश्रामस्थल तथा अन्य आवश्यक संरचना निर्माण गरिएकाले पर्यटकलाई थप सहज भएको छ। पूर्वाधार विकाससँगै बुडर झर्ना अहिले परिवारसहित घुम्न जाने आकर्षक गन्तव्य बनेको स्थानीय बताउँछन्। पर्यटकको आगमन बढेसँगै स्थानीय होटल, रेष्टुरेन्ट, चिया पसल तथा साना व्यवसायीको आम्दानीसमेत बढ्न थालेको छ। स्थानीय उत्पादन बिक्री हुने, रोजगारीका अवसर सिर्जना हुने र गाउँको आर्थिक गतिविधि चलायमान बन्ने भएकाले पर्यटनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको व्यवसायीहरू बताउँछन्।

स्थानीयले बुडर झर्नालाई अझ व्यवस्थित रूपमा विकास गरी राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार विस्तार, सरसफाइ, सुरक्षा व्यवस्थापन तथा प्रचारप्रसारमा तीनै तहका सरकारको ध्यान जानुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार पर्याप्त लगानी र योजनाबद्ध विकास हुन सके बुडर झर्ना सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण आधार बन्न सक्छ।
प्राकृतिक सम्पदाले भरिपूर्ण बुडर झर्ना अहिले गर्मीयाममा तराईका बासिन्दाका लागि शीतलताको गन्तव्य मात्र नभई सुदूरपश्चिमको पर्यटन सम्भावनालाई उजागर गर्ने आकर्षक स्थलका रूपमा परिचित बन्दै गएको छ।

