कञ्चनपुर — स्थानीय तहमा राजस्व संकलनका लागि प्रयोग हुँदै आएको सूत्र प्रणाली पछिल्लो समय पटक-पटक अवरुद्ध हुँदा कञ्चनपुरसहित देशभरका स्थानीय तहमा सेवाप्रवाह प्रभावित बनेको छ । प्रणालीले नियमित रूपमा काम नगर्दा राजस्व बुझाउन पुगेका सेवाग्राहीले घण्टौँ लाइनमा बस्नुपर्ने, पटक(पटक कार्यालय धाउनुपर्ने र अन्ततः सेवा नै नपाई फर्किनुपर्ने अवस्था सिर्जना भएको हो ।
बेलौरी नगरपालिकाको राजस्व शाखामा सामान्य राजस्व बुझाउन आएका सेवाग्राहीले समेत एउटा भुक्तानी प्रक्रिया पूरा गर्न दुईदेखि तीन घण्टासम्म कुर्नुपर्ने अवस्था रहेको छ । समस्या दैनिकजसो दोहोरिन थालेपछि सेवाग्राहीले समय, श्रम र आर्थिक रूपमा समेत अनावश्यक सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
चार दिनदेखि लगातार राजस्व बुझाउन कार्यालय धाइरहेका बेलौरीका करदाता श्रीकृष्ण न्यौपानेले सूत्र प्रणाली नचल्दा सामान्य कामका लागि पनि पटक(पटक आउनुपरेको बताए । ुचार दिनदेखि निरन्तर कार्यालय धाइरहेको छु । सूत्र प्रणाली नचल्दा काम नै भएको छैन । एउटै राजस्व बुझाउन यति धेरै दिन कुर्नुपर्छ भन्ने कल्पना पनि गरेको थिइनँ, उनले भने ।
यस्तै, बेलौरीकी करदाता राधा विष्ट प्रणाली नचलेपछि सेवा नै नलिई फर्किन बाध्य भइन् । राजस्व बुझाएर अर्को काममा जाने योजना थियो । तर प्रणाली नचल्दा केही काम भएन, फर्किनुपर्यो, उनले भनिन् । अर्का करदाता नरेश सुनारले कार्यालय पुग्दा सूत्र प्रणाली नै नचलेको जानकारी पाएपछि तनाव भएको बताए । काम छोडेर कार्यालय आएको थिएँ । यहाँ आएपछि प्रणाली नचलेको थाहा भयो । कहिले चल्छ भन्ने टुंगो नहुँदा झन् तनाव भएको छ, उनले भने ।
सूत्र प्रणाली अवरुद्ध हुँदा सेवाग्राही मात्र होइन, कर्मचारी पनि दबाबमा परेका छन् । सेवाग्राहीको लामो लाइन व्यवस्थापन गर्नुपर्ने, एउटै विवरण पटक-पटक प्रविष्ट गर्नुपर्ने र सेवा ढिलो हुँदा सेवाग्राहीको असन्तुष्टि सामना गर्नुपर्ने अवस्था रहेको कर्मचारीले बताए ।
बेलौरी नगरपालिकाका राजस्व शाखा प्रमुख अमरबहादुर रानाले महालेखा नियन्त्रक कार्यालयबाट सूत्र प्रणाली अध्यावधिक गर्ने क्रममा प्राविधिक समस्या देखिएको हुन सक्ने बताए । ुसमस्या स्थानीय तहको होइन, प्रणाली नै बेलाबेला अवरुद्ध हुने भएकाले सेवा प्रवाहमा असर परेको छ । यसले कर्मचारी र सेवाग्राही दुवैलाई अप्ठ्यारो पारेको छ । सम्बन्धित निकायले प्रणालीलाई छिटो, स्थिर र भरपर्दो बनाउन आवश्यक सुधार गर्नुपर्छ, उनले भने ।
डिजिटल माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको सूत्र प्रणाली नै पटक-पटक अवरुद्ध हुँदा स्थानीय तहको दैनिक प्रशासनिक काम, राजस्व संकलन र नागरिकको सेवामा प्रत्यक्ष असर परेको छ । समस्या कहिले पूर्ण रूपमा समाधान हुन्छ भन्नेमा अन्योल कायम रहेकाले सेवाग्राहीले सम्बन्धित निकायसँग तत्काल प्राविधिक सुधार गरी निर्बाध सेवा सुनिश्चित गर्न माग गरेका छन् ।

