कञ्चनपुर: मलको माग राख्दै कञ्चनपुरका किसान आन्दोलित भएका छन्। मल नपाएपछि जिल्लाका विभिन्न गाउँबस्ती तथा पालिका क्षेत्रका किसान आन्दोलनमा उत्रिएका हुन्। किसानहरूले बर्खे धान, उखु, मकैसहितका अन्नबालीका लागि आवश्यक रासायनिक मल समयमै नपाएको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारविरुद्ध नाराबाजी गरेका छन्।
देशमा तीन–तीन तहका सरकार हुँदासमेत निःशुल्क त परै जाओस्, खरिद गर्न खोज्दा पनि समयमै मल नपाएको किसानहरूको गुनासो छ। पटक–पटक सरकार फेरिए पनि आफ्नो साझा पीडा कहिल्यै नफेरिएको भन्दै जिल्लाका किसानले दुःख व्यक्त गरेका छन्। कञ्चनपुरमा एक लाख ६१ हजार ७४१ हेक्टर जमिन रहे पनि ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा हजारौँ किसानले खेतीपाती गर्दै आएका छन्।
मंगलबार मल नपाएपछि भीमदत्त नगरपालिका कार्यालयको मूल गेटमा धर्नामा बसेका किसान रतनराम लुहारले गत असारमा रोपाइँ गरेको एक महिना बितिसक्दा पनि हालसम्म मल नपाएको दुःखेसो पोखे। ‘हामी पैसा लिएर नजिककै सहकारीमा गयौँ, तर त्यहाँ मल छैन भने। त्यसपछि भीमदत्त नगरपालिकामा मलको व्यवस्था गर्न दबाब दिन आएका हौँ,’ उनले भने, ‘हामीमाथि पालिका, प्रदेश र केन्द्रीय तीनै तहबाट धोका भएको छ। चुनावका वेला सबै समस्या समाधान गर्छौँ भन्नेहरू चुनाव जितेपछि गायब भए। किसानलाई मल दिन नसक्नेहरूले के देश बनाउलान् ।’
अर्का किसान पदम चौधरीले धान खेतीका लागि चार–चारपटक सहकारी धाउँदा पनि मल नपाएपछि नगरपालिकामा दबाब दिन आएको बताए। ‘चुनावका वेला तीनै तहका जनप्रतिनिधिहरूले किसानका सबै समस्या समाधान गर्छौँ भने, तर चुनाव जितेपछि हामीमाथि बेवास्ता भयो,’ उनले भने, ‘अहिले खेतमा मल छर्किएर व्यस्त हुनुपर्ने किसान बाध्य भएर पालिकामा आन्दोलन गर्न आउनुपरेको छ ।’ उनले अहिले मात्रै होइन, हरेक वर्ष हुने मल अभावका कारण आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य कहिले हुने हो भन्दै प्रश्न गरे।
मलका लागि पटक–पटक सहकारी धाउँदा पनि नपाएपछि बेलडाँडी– २ स्थित नवबेलडाँडी कृषि सहकारीविरुद्ध आन्दोलन गरेका सुरेशराज जोशीले पैसा जम्मा गरे पनि मल वितरण नभएपछि सहकारीमा तालाबन्दी गर्नुपरेको बताए। उनले सहकारीले पासबुक बनाउने नाममा अतिरिक्त एक सय रुपैयाँ लिने, तर मलका लागि समयमै रकम जम्मा नगर्ने र किसानलाई मल उपलब्ध नगराउने प्रवृत्तिविरुद्ध आन्दोलन गरेको बताए। शुक्लाफाँटा नगरपालिका– ११, कलुवापुरस्थित एकता बचत तथा ऋण सहकारी संस्थाविरुद्ध आन्दोलन गरेका किसान रमेशदत्त भट्टले सहकारीले समयमै मल वितरण नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए।
अर्की किसान मीना रावतले समयमै मल नपाएको दुःखेसो पोखिन्। ‘मलका लागि हामी पटक–पटक सहकारी धायौँ। बिहानैदेखि दिनभर लाइनमा बस्दा पनि पाएनौँ,’ उनले भनिन्, ‘एक किसानलाई १० किलोका दरले मात्रै मल दियो। यो त कनिका छरेजस्तै भयो।’ यसका साथै जिल्लाभरका विभिन्न गाउँबस्ती तथा सहरबजारमा रहेका सहकारीविरुद्ध किसानहरू आन्दोलनमा उत्रिएका छन्। देशमा सरकार फेरिए पनि खेतीपाती गरेर परिवार पालिरहेका किसानको जीवनशैली कहिल्यै नफेरिएको उनीहरूको गुनासो छ।
जिल्लाका पालिका सरकारहरूले आवश्यकताभन्दा माथिबाट नै कम कोटा निर्धारण गरी रासायनिक मल पठाइएकाले वितरणमा समस्या भएको बताएका छन्। भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले माथिबाट मागअनुसार पर्याप्त कोटा नआएकाले वितरण प्रणालीमा समस्या भएको बताए। उनले वितरण प्रक्रियामा कतै सहकारीबाट बदमासी भएको पाइए कारबाही गरिने चेतावनी पनि दिएका छन्।

