धनगढीः भारतको उत्तर प्रदेशस्थित खीरी जिल्लाको गौरीफन्टा क्षेत्रमा भारत–नेपाल सीमामा लागूऔषध तस्करी नियन्त्रण अभियान अन्तर्गत बुधवार गरिएको चेकजाँचका क्रममा दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी प्रमुख डा। ख्याति गर्गको निर्देशन, अपर प्रहरी अधीक्षक ९पश्चिमी० तथा क्षेत्राधिकारी पलियाको निगरानीमा गौरीफन्टा प्रहरी र ३९औँ वाहिनी एसएसबीको संयुक्त टोलीले गौरीफन्टा–चन्दनचौकी सडकअन्तर्गत डिगनिया बनकटी जंगल क्षेत्रमा स्कुटी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २२ वर्षीय करणबहादुर गुरुङ र कैलालीकै एक १६ वर्षीय बालक रहेका छन्। उनीहरूले प्रयोग गरेको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ८९७५ नम्बरको स्कुटी बाट कुल ८.५८ ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ।
प्रहरीले करणबहादुर गुरुङको साथबाट २.६६ ग्राम र अर्का बालकको साथबाट २.४३ ग्राम र स्कुटीको डिग्गीभित्र रहेको टुलकिटबाट थप ३.४९ ग्राम ब्राउन सुगर फेला परेको थियो। घटनापछि गौरीफन्टा प्रहरी थानामा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ अभियानमा गौरीफन्टा प्रहरी र ३९औँ वाहिनी एसएसबीको संयुक्त टोलीको सहभागिता रहेको थियो।

