धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा स्रोत वितरणलाई लिएर विवाद चर्किएको छ। वार्षिक विकास कार्यक्रमअनुसार दुर्गम जिल्ला बाजुराका लागि ८२ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन हुँदा मुख्यमन्त्री कमलबहादुर शाहको गृहपालिका लम्कीचुहा नगरपालिकाले मात्रै ८७ करोड १७ लाख रुपैयाँ पाएको देखिएको छ।
मुख्यमन्त्रीको निर्वाचन क्षेत्रका मोहन्याल गाउँपालिका र जानकी गाउँपालिकाले पनि क्रमशः ५२ करोड ५९ लाख र ४० करोड ७६ लाख रुपैयाँ बजेट पाएका छन्। बजेट वितरणमा पहुँच र राजनीतिक प्रभाव हाबी भएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले आलोचना गरेका छन्। मुख्यमन्त्री शाहले प्राविधिक त्रुटि सच्याएर सहमतिमै बजेट पारित गरिने बताएका छन्। बजेट सार्वजनिक भएको तीन साताभन्दा बढी बितिसक्दा बल्ल प्रदेशसभामा छलफल सुरु भएको छ।

