धनगढी: सातौँ संस्करणको एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा क्रिकेटर शेर मल्ललाई स्पेशल अवार्ड दिएर सम्मान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा धनगढीमा भएको कार्यक्रममा उनलाई २५ हजार नगदसहित ट्रफी मार्फत सम्मान गरिएको हो ।
को हुन् मल्ल ?
मुम्बईको ऐतिहासिक वानखेडे रंगशालामा हजारौँ दर्शकको गर्जन गुञ्जिरहेको थियो । विश्व क्रिकेटको महाशक्ति इंग्ल्यान्ड ब्याटिङमा थियो । नेपालका कप्तान रोहित पौडेलले बल एउटा नयाँ अनुहारलाई थमाए । उनी थिए, शेर मल्ल । त्यो उनको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेल थियो, अझ विश्वकपजस्तो सबैभन्दा ठूलो मञ्चमा । शेरले केही क्षण गहिरो सास फेरे । रनअप लिए । पहिलो बल फ्याँके । केही सेकेन्डमै इंग्ल्यान्डका विस्फोटक ब्याटर फिल साल्ट पेभिलियन फर्किसकेका थिए ।
विश्वकप डेब्यु, पहिलो ओभर, पहिलो बल र पहिलो विकेट । नेपाली क्रिकेट इतिहासमा सुनौलो अक्षरले लेखिने त्यो क्षण केवल एउटा विकेट थिएन, डोटीको एउटा गाउँबाट सुरु भएको सपना विश्वसामु घोषणा भएको क्षण थियो । तर, त्यो सफलताको कथा एक दिनमा बनेको थिएन । डोटीको केआईसिंह गाउँपालिकामा जन्मिएका शेरको बाल्यकाल भारतको पञ्जाबमा बित्यो । रोजगारीको खोजीमा गएका बुवाआमासँगै पुगेका उनी गल्ली–गल्लीमा टेनिस बलले क्रिकेट खेल्दै हुर्किए । व्यवस्थित प्रशिक्षण थिएन, आधुनिक एकेडेमी थिएन, तर क्रिकेटप्रतिको प्रेम असाधारण थियो । परिवारको चाहना पढाइ र सुरक्षित भविष्य थियो, तर शेरको सपना भने क्रिकेटमै थियो ।
२०७५ सालमा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीको आग्रहपछि उनी नेपाल फर्किए । त्यतिबेला नेपाली क्रिकेटको अवस्था अहिलेजस्तो थिएन । घरेलु प्रतियोगिता सीमित थिए, अवसर कम थिए, भविष्य अनिश्चित थियो। तर शेरसँग एउटा विश्वास थियो– मिहिनेतले कहिल्यै धोका दिँदैन । धनगढीका धुलाम्मे मैदानमा पसिना बगाउँदै उनले लिटल फ्लावर प्रिमियर लिगबाट आफ्नो प्रतिभा देखाए । त्यसै प्रतियोगिताले उनलाई सुदूरपश्चिमको सिनियर टोलीसम्म पुर्यायो । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको नाम राष्ट्रिय क्रिकेट वृत्तमा फैलिन थाल्यो ।
नेपाल प्रिमियर लिग एनपीएलले उनको जीवन नै बदलिदियो । पहिलो सिजनमा जनकपुर बोल्ट्सबाट च्याम्पियन बनेका उनी दोस्रो सिजनअघि टोलीबाट रिलिज भए । धेरैका लागि त्यो निराशा हुन सक्थ्यो, तर शेरका लागि त्यही नयाँ अवसर बन्यो । लुम्बिनी लायन्समा पुगेपछि उनले प्रतियोगितामा १७ विकेट लिएर अविनाश बोहरा र सन्दीप लामिछानेसँगै सर्वाधिक विकेट लिने खेलाडी बने । इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका शेर लगातार दुई सिजन फरक–फरक टोलीबाट एनपीएल जित्ने पहिलो खेलाडीसमेत बने ।
उनको अर्को विशेषता मैदानबाहिर देखिन्छ । उनी आफ्ना सपना डायरीमा लेख्छन् । लक्ष्य तय गर्छन् र त्यसलाई पूरा गर्न दिनरात मिहिनेत गर्छन् । त्यसैले सफलतापछि पनि उनी भन्छन्, ‘मैले अझै केही गरेको छैन, मेरो उत्कृष्ट प्रदर्शन अझै आउन बाँकी छ ।’ शेरकै कप्तानीमा २०८२ चैतमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेश पहिलोपटक फाइनलमा प्रवेश गर्यो । त्योसँगै पीएम कपको फाइनलमा पुग्ने सुदूरपश्चिम पहिलो प्रादेशिक टिम बन्यो । सन् २०१७ बाट सुरु भएको पीएम कपमा हालसम्म कुनै पनि प्रादेशिक टोली फाइलनमा पुग्न सकेको थिएनन् । प्रतियोगितामा उपविजेता बन्दै सुदूरपश्चिमले शेरकै कप्तानीमा इतिहास रच्यो ।
आज शेर मल्ल नेपाली क्रिकेटका सबैभन्दा आशालाग्दा स्पिनरमध्ये एक हुन् । तर उनलाई चिन्नेहरू भन्छन्, उनी अझै आफूलाई गन्तव्यमा पुगेको खेलाडी मान्दैनन् । त्यसैले उनका सामाजिक सञ्जालमा बारम्बार एउटै शब्द दोहोरिन्छ— ‘गड्स प्लान ।’ सायद त्यसको अर्थ पनि यही हो– मिहिनेत कहिल्यै व्यर्थ हुँदैन । डोटीबाट सुरु भएको यात्राले विश्व क्रिकेटको रंगमञ्च छोइसकेको छ । तर, शेर मल्लको कथा अझै पूरा भएको छैन । किनकि उनी आफैँ विश्वास गर्छन्– ‘मेरो बेस्ट अझै आउन बाँकी छ ।’

