कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आवको बजेटमा पर्सिदेखि प्रदेशसभामा छलफल गर्ने तयारी छ । बजेटमाथि छलफल नहुँदै बजेटमा तीव्र विरोध र असन्तुष्टि बढिरहेको छ । बजेटको सबैभन्दा ठूलो हिस्सा पाएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमै सबैभन्दा बढी बजेटमा बेथिति रहेको आरोप लागिरहेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री एमालेका सुरेन्द्र पाल हुन्। उनको गृह जिल्ला बैतडी हो। अहिले उनको मन्त्रालयका १ हजारभन्दा बढी योजना बैतडी जिल्लामा परेका छन्। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट १३२ योजना बैतडीमा परेका छन्। त्यस्तै, सहरी विकास तथा भवन कार्यालयबाट ७८, पूर्वाधार विकास कार्यालयबाट १०७ योजना समावेश गरिएका छन्। बैतडीमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट सबैभन्दा बढी ५१३ योजना समावेश गरिएको छ। मन्त्रालयका १८८ योजना बैतडीका स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएका छन्।
पूर्वमन्त्री शाहीले जिल्लाका खानेपानी तथा सिँचाइका कार्यालयहरूबाट समेत मन्त्रालयले नै योजना इन्ट्री गर्न लगाइएको आरोप लगाउँछन्। आफ्नै जिल्लाका १ हजारभन्दा बढी योजना समेटिँदा पनि स्वयं मन्त्री सुरेन्द्र पाल यो बजेटसँग सन्तुष्ट छैनन्। आफूहरूलाई मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्रालयबाट अघिल्लो वर्षभन्दा कम सिलिङ दिएर त्योभन्दा ठूलो बजेट ल्याइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
‘हामीलाई करिब ९ अर्बको सिलिङ दिइएको थियो । सरकारले १८ अर्ब ५० करोडभन्दा बढीको बजेट भौतिक मन्त्रालयबाट ल्याएको छ। हामीले नै हाम्रो मन्त्रालयबाट कस्ता योजना परे भनेर राम्ररी हेर्न पाएनौँ, ’ मन्त्री पालले भने, ‘अर्थमन्त्री र मुख्यमन्त्रीले यसपटक हाम्रो मन्त्रालयको बजेटमाथि पनि छेडखानी गर्नुभयो।’ आफ्नो जिल्लामा धेरै योजना परेको विषयमा पनि विस्तृत जानकारी आफूलाई नभएको उनले दाबी गरे।
‘बजेट राम्रो भएको भए मैले किन विरोध गर्नेरु अहिलेको बजेट यथास्थितिमा पारित गर्न सकिँदैन भनेर मैले पटक–पटक भनिरहेको छु, ’ उनले भने, ‘म मात्रै होइन, हाम्रो संसदीय दल अहिलेको बजेट यथास्थितिमा पारित गर्न नसक्ने अडानमा छ। ’ उनका अनुसार बजेट या त फेल हुन्छ, या पूरक बजेट आउँछ। त्यसबाहेक अर्को विकल्प नभएको मन्त्री पालको दाबी छ।

