कैलाली । सातौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड अन्तर्गत ‘वर्ष उत्कृष्ट महिला खेलाडी’को उपाधि कबड्डी खेलाडी मानमती बिष्टले जितेकी छन्।
खेलकुद पत्रकार मञ्चले धनगढीमा आयोजना गरेको अवार्ड समारोहमा बिष्टलाई ट्रफीसहित नगद ३५ हजार रुपैयाँ प्रदान गरिएको हो।
यस विधामा दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी, कबड्डीकी मानमती बिष्ट र फुटबलकी मिना देउवा मनोनयनमा परेका थिए। मानमती बिष्टले चीनमा सम्पन्न छैटौँ बीच एसियन गेम्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने टोलीको कप्तानी गरेकी थिइन्।
त्यस्तै, बङ्गलादेशविरुद्धको पाँच खेलको कबड्डी शृंखलामा नेपालले ३-२ को जित हासिल गर्दा उनी दुई खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएकी थिइन् भने प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडीसमेत बनेकी थिइन्।
दोस्रो कबड्डी विश्वकपमा नेपाली टोलीको कप्तानी गर्दै नेपाललाई चौथो स्थानसम्म पुर्याउन पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
अवार्ड ग्रहणपछि बिष्टले यो सम्मान आफ्नो एक्लो प्रयासले सम्भव नभएको बताउँदै प्रशिक्षक, टोलीका सदस्य, परिवार तथा शुभेच्छुकहरूको साथ र सहयोगकै कारण यो उपलब्धि हासिल गर्न सकेको प्रतिक्रिया दिइन्। उनले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उच्च राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

