कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा आजदेखि तीन दिनसम्म हरिहाँसको गणना गरिनेछ । गणना टोलीमा आठ जना सहभागी छन् । तीन वटा उपसमूह बनाएर तीन वटा ब्लकमा एकसाथ गणना सुरु गरिएको नेपाल पन्छी संरक्षण सङ्घका स्थलगत परियोजना अधिकृत हिरुलाल डगौराले जानकारी दिए ।
गर्मीयामको गणनाअनुसार सन् २०२३ मा २१२, सन् २०२४ मा २२५ र सन् २०२५ मा १६४ वटा हरिहाँस यहाँ अभिलेख भएका छन् । जाडोयाममा भने सन् २०२२ मा ३९४, सन् २०२३ मा ३१६ र सन् २०२४ मा ४११ पुगेको थियो । सन् २०२५ मा यो सङ्ख्या घटेर ३७२ मा झरेको थियो । सन् २०२६ को जाडोयाममा भने हरिहाँसको सङ्ख्या ४२९ पुगेको तथ्याङ्क छ । सोही अवधिमा अन्य जलपंक्षीको सङ्ख्या भने क्रमशः घट्दै गएको तथ्याङ्कले देखाएको छ ।
घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन् । चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् ।

