धनगढी: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७औँ स्थापना दिवस सुदूरपश्चिम प्रदेशमा विभिन्न जनचेतनामूलक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाइएको छ। संगठनले तीन दिनसम्म सञ्चालन गरेको स्थापना दिवस विशेष कार्यक्रमको अन्तिम दिन आज धनगढी बसपार्कमा ट्राफिक जनचेतना तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिमका अध्यक्ष ललित चन्दले यातायात क्षेत्रका श्रमिकहरूको हक, हित र अधिकार सुनिश्चित गर्न ४७ वर्षअघि संगठन स्थापना भएको स्मरण गरे। उनले विगतको तुलनामा यातायात क्षेत्रमा केही सुधार आए पनि मजदुरहरू अझै पूर्ण रूपमा सुरक्षित हुन नसकेको बताए। विशेषगरी सामाजिक सुरक्षा तथा श्रम अधिकारका विषयमा अझै चुनौतीहरू रहेको उल्लेख गर्दै उनले यातायात क्षेत्रमा कार्यरत सम्पूर्ण मजदुरलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध गराउनुपर्ने आवश्यकता औंल्याए। मजदुरको भविष्य सुरक्षित बनाउन राज्य तथा सम्बन्धित निकायले थप जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख नवराज कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि चालकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। उनले चालकहरूले सवारी साधन चलाउँदा आफ्नो परिवार, यात्रु तथा सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। कार्कीका अनुसार हाल भइरहेका कुल सडक दुर्घटनामध्ये करिब ४७ प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका छन्। चालकहरू सचेत, अनुशासित र जिम्मेवार भएर सवारी चलाउने हो भने धेरै मानवीय क्षति रोक्न सकिने उनको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले यातायात क्षेत्रसँग सम्बन्धित धेरै समस्या अझै समाधान हुन नसकेको बताए। सडक पूर्वाधार, श्रमिक सुरक्षा, नीति तथा व्यवस्थापनका क्षेत्रमा सुधारको आवश्यकता रहेको उल्लेख गर्दै उनले चुनौतीपूर्ण परिस्थितिका बीच पनि यातायात व्यवसायी र मजदुरले सेवा प्रवाह गरिरहेको बताए। यातायात व्यवसायी र मजदुर एकअर्काका परिपूरक भएको उल्लेख गर्दै उनले दुवै पक्षबीच सहकार्य, समन्वय र आपसी समझदारी बढाएर दुर्घटनालाई न्यूनतम स्तरमा झार्नुपर्नेमा जोड दिए।
स्थापना दिवसको अवसरमा संगठनले तीन दिनसम्म विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो। आइतबार धनगढीस्थित संगठनको कार्यालयमा आर्थिक रूपमा विपन्न यातायात मजदुरहरूलाई आर्थिक सहयोग वितरण गरिएको थियो भने सोमबार कञ्चनपुरमा ट्राफिक सचेतना तथा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। तीनदिने कार्यक्रमको समापनका अवसरमा आज धनगढी बसपार्कमा आयोजित रक्तदान कार्यक्रममा यातायात मजदुर, व्यवसायी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। साथै बसपार्क परिसरमा सरसफाइ अभियान सञ्चालन गरी वातावरण स्वच्छ राख्ने सन्देशसमेत प्रवाह गरिएको थियो।

संगठनले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्व, सडक सुरक्षा, श्रमिक अधिकार र मानवीय सेवासँग जोडेर मनाएको जनाएको छ। यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र श्रमिकमैत्री बनाउन यस्ता कार्यक्रमले सकारात्मक योगदान पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।


