चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि बैतडीका समाजसेवी युवा वीर बहादुर विष्ट (विनोद) ले उम्मेदवारी घोषणा गरेका छन्।
सुदूरपश्चिम प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका विष्ट लामो समयदेखि रोजगारीका सिलसिलामा भारतमा रहे पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका छन्। विभिन्न सामाजिक तथा मानवीय गतिविधिमार्फत जनतामाझ लोकप्रिय छवि निर्माण गरेका उनले पार्टीभित्र युवाको नेतृत्व विकास, संगठन सुदृढीकरण तथा सुदूरपश्चिमका जनताका मुद्दालाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
विष्टले रास्वपाले अघि सारेको सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिक उत्तरदायित्वको अभियानलाई थप सशक्त बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे। सुदूरपश्चिमको प्रतिनिधित्वलाई राष्ट्रिय स्तरमा अझ प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।
उनले महाधिवेशन प्रतिनिधि तथा पार्टी सदस्यहरूलाई आफ्नो पक्षमा समर्थन गर्न आग्रह गर्दै युवाको सक्रिय सहभागिता र जनमुखी नेतृत्वको आवश्यकता औंल्याएका छन्।
बैतडीबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने आकांक्षासहित मैदानमा उत्रिएका विष्टको उम्मेदवारीलाई सुदूरपश्चिमका युवा तथा रास्वपा कार्यकर्ताहरूले चासोका साथ हेरिरहेका छन्। सामाजिक सेवामार्फत जनविश्वास कमाएका विष्टले केन्द्रीय सदस्यमा विजयी भए सुदूरपश्चिमको आवाजलाई पार्टीको केन्द्रीय नेतृत्वमा थप सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन हाल चितवनमा जारी छ। महाधिवेशनमार्फत देशभरबाट आएका प्रतिनिधिहरूले पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाइरहेका छन्।


