धनगढी: कैलालीमा वन अतिक्रमण हटाउने नाममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । मन्त्रीस्तरको निर्णयबाट छानबिन समिति गठन गरिएको हो ।
प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा रहेको समितिमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर धोजराज जोशी र मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य छन् ।
अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट पल्टाइएको सम्बन्धमा आवश्यक छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । २९ जेठमा गोदावरी नगरपालिका– ४ बासपानीकी धनादेवी धामीको टेम्पो भिरबाट खसालिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा वनका १२ कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


