धनगढी: डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ अन्तर्गत भीमदत्त राजमार्ग क्षेत्रमा सडक छेउको अतिक्रमण हटाउने क्रममा गरेको धरपकड तथा व्यवहारप्रति कैलाली उद्योग वाणिज्य संघले गम्भीर आपत्ति जनाएको छ। संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै वन क्षेत्रको गैरकानुनी अतिक्रमण हटाउने कार्य नियम, कानुन र स्थापित प्रक्रियाअनुसार हुनु आवश्यक रहेको तथा त्यस्ता अभियानलाई आफूहरूले सदैव समर्थन गर्ने जनाएको छ। सार्वजनिक सम्पत्ति तथा वन क्षेत्रको संरक्षण सबै सरोकारवालाको साझा दायित्व भएको संघको भनाइ छ।
तर अतिक्रमण हटाउने नाममा सम्बन्धित निकायका कर्मचारीबाट नागरिकमाथि अमानवीय व्यवहार, अनावश्यक बल प्रयोग तथा गैरजिम्मेवार कार्य भएको आरोप लगाउँदै संघले यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ। विज्ञप्तिमा विशेषगरी पुरानो टेम्पोमा किराना व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएकी धना देवी धामीको टेम्पो वन कर्मचारीहरूले भिरबाट खसालेको भन्ने घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त घटनासहितका अमानवीय तथा गैरजिम्मेवार व्यवहारले कानुनी शासन, मानव अधिकार र जिम्मेवार सार्वजनिक सेवाका मूल्यमान्यतामाथि प्रश्न उठाएको संघको ठहर छ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडितलाई न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ। संघले सबै सरोकारवाला निकायलाई कानुन, मानव अधिकार तथा नागरिक मर्यादाको सम्मान गर्दै जिम्मेवारी निर्वाह गर्न पनि आग्रह गरेको छ।


