धनगढी । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन् ।
पुरानो टेम्पोमा गोदावरीकै धनादेवी धामीले खुद्रा सामान बिक्री गरेर जीविका चलाउँदै आएकी थिइन् । तर, डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले धामीले सडक छेउमा टेम्पो राखेर वन अतिक्रमण गरेको भन्दै भिरबाट फालेका हुन् ।
धामीले टेम्पोबाट कर्मचारीले सामान झारेपछि टेम्पो घर लैजान्छु भन्दा पनि नमानेर सडकबाट भिरमा खसालि दिएको बताइन् । डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो नै फालेपछि आलोचना भइरहेको छ ।
यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने पटक-पटक हटाउन ताकेता गर्दा नमानेको दाबी गर्दै हटाउने क्रममा कर्मचारीलाई गालीगलौज गरेएपछि उक्त स्थिति सिर्जना भएका दाबी गरे ।
‘सडकमा चलाउन नमिल्ने पुरानो टेम्पोलाई पसलका रुपमा प्रयोग गर्ने गरेको रहेछ । हामीले सडक क्षेत्र अतिक्रमण गरेर राखिएको टेम्पो हटाउन विगत पुसदेखि उहाँलाई भन्दै आएका थियौ’, ठाकुरले भने, ‘ तर, अहिलेसम्म नहटाएको देखिएपछि कर्मचारी खाली गर्न पुग्नुभएको थियो । त्यहीबेला उहाँहरुले गालीगलौज गरेपछि आवेशमा त्यस्तो भयो होला ।’
ठाकुरले टेम्पो चलाउन मिल्ने खालको नभइ पुरानो भएको बताए । डिभिजन वन कार्यालयले अहिलेसम्म राजमार्ग क्षेत्रमा अतिक्रमण गरि बनाइएका ४७ संचरना भत्काएको जनाएको छ ।


