धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहलाई दल नेताबाट हटाउन गरिएको अविश्वास प्रस्तावको संकट हाललाई टरेको छ । सांसद दिवान सिंह विष्टसहित ९ जना सांसदहरूले दल नेताबाट शाहलाई हटाउनुपर्ने माग गर्दै अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि हस्ताक्षरकर्ता डम्बरी महराले हस्ताक्षर फिर्ता लिएको दाबी गरेपछि मुख्यमन्त्री शाह विरुद्धको प्रस्तावको संकट टरेको हो ।
सुदूरपश्चिममा नेपाली काँग्रेसका १८ जना सांसद छन् । त्यसमध्ये प्रकाश देउवा अमेरिकामा हुँदा ९ जनाले हस्ताक्षर गरेका थिए । मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट हुँदै हस्ताक्षर गरेको दावी गरेकी प्रदेश सभा सदस्य डम्बरी महराले हस्ताक्षर फिर्ता लिएको बताइन् । सांसद महराले भनिन् ‘पार्टीको एकता कायम गर्न, मुख्यमन्त्रीको ध्यानाकर्षण भएपछि हस्ताक्षर फिर्ता लिएको बताइन् ।
शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो । सांसद बिष्टले संसदीय दलको नेता फेर्दै सरकार परिवर्तन गर्ने उद्देश्यसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए थिए ।
मुख्यमन्त्री शाहले कांग्रेसको असन्तुष्ट सांसदहरूसँग छलफल गर्ने बताएका छन् । पार्टीलाई एक बनाउन सबै सभापति थापाको नेतृत्वमा सिंगो पार्टीलाई एक बनाउने अभियानमा आफु रहेको बताए । शाहले भने ‘सर्वोच्च अदालतको आदेशपछि गगनकुमार थापा नेतृत्वको काँग्रेसलाई एक बनाउन सबै लागि पर्ने हो, आपसी असन्तुष्टि भए छलफलबाट समाधान खोजिन्छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका १८ सांसद छन् । तीमध्ये ९ सांसदले हस्ताक्षर गरेर दलको नेता फेर्ने प्रस्ताव पेस गरेपनि एक जनाले फिर्ता लिदाँ अहिले लाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको हो । जेठ ८ गते ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा संसदीय दलको बैठक बसेर उक्त बैठकको उपस्थितिलाई आधार बनाउँदै आज देवानसिं विष्ट र मानबहादुर रावलले प्रदेशसभामा निवेदन दर्ता गराएका थिए । मुख्यमन्त्री शाह लाई दलको नेता बाट हटाउँन सुदुरपश्चिम प्रदेशमा लामो समय देखि प्रयास हुदै आएपनि त्यो सफल भएको छैन् ।


