डडेल्धुरा — सुदूरपश्चिम प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि डडेल्धुराको टुाडिखेलमा सुरु भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालन भएको प्रतियोगितामा प्रदेशका ना वटै जिल्लाका खेलाडी सहभागी छन् । डडेल्धुरासहित कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, अछाम, बझाङ, बाजुरा र डोटीबाट आएका खेलाडी तथा प्रशिक्षकसहित करिब १ हजार जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडी प्रतिस्पर्धामा सहभागी गराइएको हो । विगतमा कैलाली र कञ्चनपुरमा मात्रै आयोजना हुँदै आएको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड यसपटक पहिलोपटक डडेल्धुरामा सञ्चालन गरिएको हो । प्रतियोगिताले पहाडी जिल्लामा पनि खेलकुद गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बिहीबारदेखि तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भलिबल, कबड्डी, कराते, तेक्वान्डो तथा एथलेटिक्सका खेलहरू सञ्चालन हुने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । जिल्लाबाहिरबाट आएका खेलाडी र प्रशिक्षकका कारण सदरमुकाम क्षेत्रमा चहलपहल बढेको छ । प्रतियोगिताको उद्घाटनमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले सरकारले समग्र बजेटको एक प्रतिशत रकम मात्रै खेल क्षेत्रमा छुट्याउन सके प्रदेशभर खेलकुद गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने बताए ।
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारीले खेल प्रतिभालाई संरक्षण र प्रोत्साहन गर्न स्थानीय तथा प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।


