धनगढी । टीकापुर नगरपालिकाले स्वास्थ्य संस्था र प्लास्टिकजन्य पदार्थ विक्रीवितरण गर्ने पसलको अनुगमन गरेको छ । टीकापुर बजारका १९३ फर्मको अनुगमन गरी केहीलाई निर्देशन, केहीलाई म्याद र केहीलाई अन्तिम पटक चेतावनी दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले बताए ।
एक साताको अवधिमा ११७ वटा व्यवसाय, ५२ वटा प्लास्टिक व्यापारी र २४ वटा मेडिकलको अनुगमन गरिएको छ । २०८२ साउनदेखि प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाए पनि बजारमा ठुलो मात्रामा प्लास्टिकका झोला भेटिएका छन् । नगरपालिकाको सरसफाइ शाखाका प्रमुख लोकबहादुर बुढाले भने , “वितरणका लागि राखिएका ६५ किलो प्लास्टिकका झोला जफत गरिएका छन् । थोक बिक्रेतासँग सय क्विन्टल जति प्लास्टिकका झोला भेटिएकोले सिल गरेर अबदेखि कारोबार नगर्ने सर्तमा छोडिएको छ ।”
अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको टीकापुर हेल्थ केयर सेन्टर प्रालिमा ताला लगाएर मापदण्ड अनुसार सर्ने कबुल गराई छोडेको छ । बजारमा रहेका आमाको दुधलाई प्रतिस्थापन गर्ने दुधदानी, पाउडर दुधलगायतका सामग्री नबेच्न र अहिले रहेका पाउडर डाक्टरको सल्लाह अनुसार मात्रै बेच्न निर्देशन दिइएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए ।
टीकापुरका मालपोत, नापी, प्रशासन कार्यालय वरपर रहेका पसलमा फोटोकपी, पानी, हुलाक टिकटको मूल्य अत्यधिक लिएको पाइएकाले फोटोकपीको पाँच रुपियाँ र पानीको २० रुपियाँभन्दा बढी लिन रोक लगाइएको नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले भन्नुभयो, “११७ वटा विविध व्यवसायको अनुगमन गरी १८ हजार ९३९ रुपियाँ बराबरका सामान जफत गरेका छौँ ।” सरकारको हस्तक्षेपबिना स्वच्छ बजार हुन नसक्ने उपभोक्ताकर्मीको भनाइ छ ।
पानी, फोटोकपी जस्ता उपभोग्य वस्तुको मूल्य घटाए झैँ सरकारी कार्यालय वरपर सञ्चालित होटेल व्यवसायको खाद्य वस्तुको मूल्य र अनलाइन फाराम भरेको शुल्क अत्यधिक भएकाले घटाउनुपर्ने उपभोक्ता अधिकारकर्मी शेरबहादुर विष्टले बताउनुहुन्छ । संविधानमा भएको व्यवस्था अनुसार स्थानीय सरकारको एकल अधिकारको सूचीमा रहेको बजार व्यवस्थापनमा टीकापुर नगरपालिकाले कोसिस गरिरहेको भए पनि अनुगमनलाई निरन्तरता दिने कठिन भएको आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्य बताउनुहुन्छ ।


