धनगढी । सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि आगामी जेठ २ र ३ गते धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ आयोजना हुने भएको छ । ‘समृद्धिका लागि सार्थक संवाद’ भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग र सुदूरपश्चिम विकास फाउन्डेसनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । धनगढीस्थित सौराइ स्क्वायरमा आयोजना हुने यस कार्यक्रममा सङ्घीय तथा प्रदेश सरकारका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, निजी क्षेत्र, विकास साझेदार संस्था, विज्ञ, युवा तथा सरोकारवालाहरूको सहभागिता रहनेछ ।
सुदूरपश्चिम विकास फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीका अनुसार यो कचहरीले प्रदेशको विकासमा देखिएका चुनौतीहरू पहिचान गरी समाधानका लागि पहल गर्नेछ । उनले कार्यक्रमपछि तयार पारिने प्रतिवेदन मार्फत सुदूरपश्चिम प्रदेश किन पछि पर्यो भन्ने तथ्यसहित केन्द्र सरकारलाई दबाब दिने र विकासमा सहयोग पुर्याउने बताएका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारले यस कार्यक्रमले प्रदेशको विकासको मार्गचित्र रोडम्याप तयार पार्न र प्रभावकारी नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रमपछि घोषणा पत्र पनि तयार गरिने उनले बताए। तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा गरिबीको दर ३४.१६ प्रतिशत रहेको छ। जुन देशभरमै सबैभन्दा बढी हो । प्रदेशमा औद्योगिक विकास शून्य जस्तै रहेको र सङ्घीय बजेटको न्यून हिस्सा मात्र विनियोजन हुने गरेकोले यस क्षेत्रको विकासका लागि बहस आवश्यक देखिएको आयोजकको भनाइ छ ।
तीन दिनसम्म चल्ने भनिएको यस कार्यक्रममा पहिलो दिन नीति र योजना, दोस्रो दिन निजी क्षेत्र, श्रम र रोजगारी तथा तेस्रो दिन प्रदेशको स्वाभिमान र विकासका प्राथमिकताका विषयमा सरोकारवालाबिच गहन छलफल हुनेछ । कार्यक्रमको ‘सुदूरपश्चिम घोषणापत्र’ समेत जारी गरिने जनाइएको छ ।


