धनगढी । सुदूरपश्चिम सरकारमा मन्त्री फेरबदल गर्नुपर्ने कुरा उठेको छ । सत्तारुढ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सासंदहरूले नै मन्त्री परिवर्तनको माग गरिरहेका छन् । हाल सुदूरपश्चिममा नेपाली कांग्रेसका कमल बहादुर शाहले सरकारको नेतृत्व गरिरहेका छन् । एमाले र कांग्रेसको सहमतिअनुसार मन्त्रालयहरू बाँडिएका छन् । जसमा आर्थिक मामिला मन्त्री कांग्रेसबाट बहादुर सिंह थापा छन् । यस्तै सामाजिक विकास मन्त्री कांग्रेसकै मेघराज खडका छन् ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कांग्रेसकै शिवराज भट्ट छन् । एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, आन्तरिक मामलिा तथा कानुन मन्त्री हिरा सार्की रहेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा रहेका छन् । त्यस्तै, तीनजना राज्यमन्त्रीहरू पनि सरकारमा सामेल छन् । जसमा सामाजिक विकास राज्यमन्त्री कांग्रेसकी सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्री कांग्रेसकै प्रकाश बम र भौतिक पूर्वाधार विकास राज्यमन्त्ती एमालेकी निर्मलादेवी साउँद रहेकी छन् ।
सुदूरपश्चिम सरकारमा रहेको टिमलाई लिएर सत्तारुढ दलभित्रै ठूलो असन्तुष्टि चुलिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामीका अनुसार संसदीय दलको बैठकमा मन्त्री फेरबदलको विषयले प्राथमिकता पाएको छ । ‘मन्त्रीहरू फेर्नुपर्छ भन्ने कुरा उठेको छ । यो विषयमा केन्द्रका नेताहरूसँग पनि छलफल भएको छ । तर, यो दुई दलको कांग्रेस–एमाले गठबन्धन सरकार भएकाले हामीले मात्रै चाहेर हुँदैन । काठमाडौँमा एमालेसँग पनि सल्लाह गर्नुपर्ने हुन्छ,’ उनले भने । उनका अनुसार मन्त्री फेर्ने तयारी त छ । त्यसको निर्णय केन्द्रबाट हुने छ ।
पार्टीका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेताहरूको सहभागितामा दुई दिनअघि धनगढीमा भएको भेलामा प्रदेश सांसदहरूले मुख्यमन्त्री परिवर्तनभन्दा पनि मन्त्रीहरूको आलोपालोमा बढी जोड दिएका थिए । कतिपय सासंदले मन्त्री फेरबदल गर्नुपर्ने माग राखेका थिए भने केही सासंदले मुख्यमन्त्री नै परिवर्तन गर्नुपर्ने बताएका थिए । सो भेलामा सांसद गीता चौधरीले थारू समुदायको प्रतिनिधित्व हुनुपर्ने अडान राखेकी थिइन् ।
यस्तै सो भेलाको छलफलमा सासंद दिवान सिंह विष्टले मुख्यमन्त्रीको कार्यशैलीप्रति नै प्रश्न उठाएका थिए । मन्त्री बन्ने दौडमा मानबहादुर रावल, डम्मरी महरा, पदमबहादुर शाही र तुल्सी देवकोटा रहेको चर्चा छ । ‘सबैले पालैपालो सरकारको अनुभव र जनताको सेवा गर्न पाउनुपर्छ,’ उनीहरूको भनाइ थियो । उक्त भेलामा सबैका कुरा सुनेपछि सभापति गगन थापाले भने तत्कालै सरकार नढल्ने संकेत गरेका थिए ।
कम्तीमा आगामी बजेट नआउन्जेल मन्त्रिपरिषद्मा ठुलो हेरफेर नगर्ने र बजेटपछि कार्यसम्पादनका आधारमा मन्त्री फेर्ने रणनीतिमा केन्द्र रहेको देखिन्छ । सरकार र मन्त्री परिवर्तनको विषयमा केन्द्रको निर्णयको पर्खाइमा आफूहरू रहेको सासंदहरूको भनाइ छ । आगामी आर्थिक वर्षको बजेट ल्याउने काममा अहिले सुदूरपश्चिम सरकार व्यस्त छ । यो बेला सरकार र सरकारमा रहेका मन्त्री परिवर्तन हुने सम्भवाना निकै कम रहेको मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् ।
‘यो बेला मन्त्री परिवर्तन हुने, सरकार परिवर्तन हुने भन्ने हल्ला मात्रै हो,’ शाहले भने ।


