धनगढी : कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले मादक पदार्थ सेवन गरेर सरकारी गाडी चलाउँदा दुर्घटना भएको खुलेको छ। मापसे गरेर गाडी चलाएको पाइएपछि प्रहरीले मेयर भट्टलाई जरिवाना गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले भट्टलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा पाँच सय रुपैयाँ तथा लापरवाहीपूर्वक सवारी चलाएको भन्दै थप पाँच सय रुपैयाँ जरिवाना गरेको जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यका अनुसार मेयर भट्टलाई कुल एक हजार रुपैयाँ जरिवाना गरेर गाडी छाडिएको हो। उनका अनुसार भट्टले आफन्तमार्फत ट्राफिक प्रहरी कार्यालयमा जरिवाना बुझाएपछि कैलाली गाउँ प्रहरी चौकीले नियन्त्रणमा रहेको गाडी कागजी प्रक्रिया पूरा गरेर छाडेको हो।
शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गेटा क्षेत्रमा भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको थियो। अनियन्त्रित भएको गाडी सडक छेउको रेलिङमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मानवीय क्षति नभए पनि गाडीको अगाडिको भागमा क्षति पुगेको छ। मेयरको गाडी दुर्घटनामा परेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार राति तत्काल मापसे परीक्षण गर्न नसकिए पनि मेयर भट्टले स्वयं मादक पदार्थ सेवन गरेर गाडी चलाएको स्वीकार गरेपछि जरिवाना गरिएको हो। नेपाली काँग्रेसबाट निर्वाचित मेयर भट्टको दुर्घटना घटनाले उनको मति पहिलेदेखि नै विवादित भएको भन्दै अझै नसुध्रेको टीप्पणी गरिएको छ।


