धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र चुलिएको विवाद र आगामी सत्ता समीकरणका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णायक हस्तक्षेप गरेका छन् । संसदीय दलको नेतृत्वलाई लिएर सांसदहरूबिच तीव्र मतभेद बढिरहेका बेला अध्यक्ष ओलीले सुदूरपश्चिमका सबै ११ जना प्रदेशसभा सदस्यहरूलाई भक्तपुरको गुण्डुमा बोलाएर विशेष छलफल गरेका हुन् ।
संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति असन्तुष्ट पक्षले नेतृत्व परिवर्तनको माग गरिरहेका बेला भएको यस भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । छलफलमा अध्यक्ष ओलीले आन्तरिक कलह छोडेर पार्टीलाई बलियो बनाउन र सम्भावित निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
बैठकपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसीले रातोपाटीसँग कुरा गर्दै संसदीय दलको नेता परिवर्तनका विषयमा कुनै औपचारिक छलफल नभएको दाबी गरे । अध्यक्ष ओलीले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। ‘अध्यक्षज्यूले प्रदेश सभा र सरकारमा हाम्रा ११ जना सांसदको भूमिकालाई कसरी प्रभावकारी बनाउने र पार्टीभित्रको कमजोरीलाई कसरी सुधार्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको छ।’, उनले भने ।
अध्यक्ष ओलीले बैठकमा गत निर्वाचनको समीक्षा गर्दै नतिजा किन कमजोर आयो भन्ने विषयमा चासो राखेका थिए।


