धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो ४ घण्टाभन्दा बढी समय सुदूरपश्चिमका शीर्ष नेता तथा सबै प्रदेश सांसदसँग बिताए । पार्टी उपमहासचिव लेखराज भट्ट, प्रदेशका सबै सांसद, प्रदेश संयोजक गणेश ठगुन्ना, अध्यक्ष कृष्णप्रसाद जैशी, निवर्तमान अध्यक्ष दामोदर भण्डारी र एमाले नेतृ निरु पालसँग अध्यक्ष ओलीले समग्र सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए ।
सुरुमा प्रदेश संयोजक गणेशसिंह ठगुन्नाले विषयवस्तुबारे जानकारी गराएका थिए । त्यसपछि प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले थप प्रकाश पारेका थिए ।
पार्टीको तर्फबाट दुई जनाले धारणा व्यक्त गरेपछि ओलीले संसदीय दलका सदस्यहरूको कुरा सुनेका थिए । सार्वजनिक रूपमा संसदीय दलको नेता परिवर्तनको विषय उठे पनि बैठकका अधिकांश सांसदहरूले तत्काललाई नेता परिवर्तन गर्न नहुने बताएका थिए । ओलीसँग उपनेता सन्तोष शर्मा र प्रमुख सचेतक चक्र मल्लले दलको नेता परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिए पनि अन्य सांसदहरूले भने तत्काललाई दलको नेता परिवर्तन उपयुक्त नहुने बताएका थिए ।
अर्का सांसद धर्मराज पाठकले तत्काल दलको नेता परिवर्तन उपयुक्त नहुने, परिवर्तन गर्दा आफू उपयुक्त हुनसक्ने दाबी गरेका थिए ।
यस्तो बेला दलको नेता परिवर्तन गर्दा राम्रो सन्देश नजाने भन्दै गर्नैपर्ने अवस्थामा पछिल्लो समय युवाको बहस उठिरहेका बेला संसदीय दलमा युवाको उपस्थितिका लागि आफू उपयुक्त हुन सक्ने पाठकको भनाइ रहेको थियो ।
बैठकमा उपस्थित भएका अधिकांश सांसदहरूले हाल दलको नेता परिवर्तन उपयुक्त नहुने बताएपछि तत्काललाई दलको नेता परिवर्तनको बहस सकिएको गुण्डु स्रोतले जानकारी दिएको छ ।
‘११ जना मध्ये ३ जना मात्रै परिवर्तनको पक्षमा देखिएका थिए । काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन् । मन्त्रीमा नसमेटिएका केही सांसदहरूले अब आलोपालो गर्नुपर्ने संकेत गरेका थिए ।
मन्त्री नभएका तीन सांसदहरूले अध्यक्ष ओलीलाई सरकारमा आलोपालो गर्दा उपयुक्त हुन सक्ने सुझाव दिएका थिए । संसदीय दलको नेता परिवर्तन नहुने संकेतपछि तीन सांसदले सरकारबारे चासो राखेका थिए,’ बैठकमा उपस्थित अर्का सांसदले भने, ‘त्यस विषयमा पनि हिजो ठोस सहमति कुनै भएन ।’
हिजो ४ घण्टामा सबैभन्दा धेरै समय ओलीले सांसद तथा नेताहरूको कुरा सुन्न खर्चिएका थिए । त्यसपछि आफूले वर्तमान अवस्थाबारे व्याख्या गरेका थिए ।
ओलीले प्रदेश सभा र सरकारमा सहभागी भएकाहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने, पार्टीभित्रका कमजोरी सुधार गर्नुपर्ने लगायतका विषयमा जोड दिएका थिए ।
अध्यक्ष ओलीले निर्वाचनको समीक्षा गर्दै नतिजा किन कमजोर आयो भन्ने विषयमा चासो राखेका थिए । साथै प्रदेश र स्थानीय तहको चुनावमा अहिलेदेखि नै नतिजा सुधार्ने गरी गाउँस्तरमा लाग्न र प्रदेशमा विवादरहित ढङ्गले अगाडि बढ्न निर्देशन दिएका थिए ।
पार्टी एकताबद्ध बनाउनु नै अहिलेको आवश्यकता हो । सबै प्रकारको शक्तिको प्रहार भइरहेको बेला आफूहरू विभाजन हुने कुरा राम्रो होइन । अब एमाले एकताबद्ध हुने गरी अघि बढ्नुपर्छ, त्यो सन्देश सुदूरपश्चिमबाटै सुरु हुन्छ,’ ओलीले सहभागीलाई छोटो प्रतिक्रिया दिएका थिए ।
ओलीले संसदीय दल, मन्त्रीबारे सबैको कुरा सुने । आफूले भने कुनै निर्णय सुनाएनन् । भोलि थप संवादका लागि एमाले उपमहासचिव लेखराज भट्ट, संयोजक गणेशसिंह ठगुन्ना, अध्यक्ष कृष्णप्रसाद जैशी र दलका नेता राजेन्द्रसिंह रावललाई फेरि बोलाएका छन् ।
अधिकांश नेताले दलको नेताको पक्षमा बोलेपछि ओली सरकार र समीकरणको विषयमा मात्रै निर्णय गर्ने मनसायमा पुगेको छलफलमा सहभागी स्रोतले बताएको छ ।
भोलि ११ बजे प्रदेशका नेताहरूसँग ओलीले संवाद गरेपछि प्रदेश सरकारमा मन्त्री फेरिने वा समीकरण नै फेरिने भन्ने विषयमा टुङ्गो लाग्नेछ ।


