धनगढी — धनगढीस्थित मयुर इङ्गलिस बोर्डिङ्ग स्कुल, शैलेश्वरी बोर्डिङ्ग स्कुल र फारवेष्ट सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा शिक्षकहरूको पेशागत विकाससम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी र समयसापेक्ष बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा विभिन्न विद्यालयका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममा उपसचिव भिम पनेरू मुख्य प्रशिक्षकका रूपमा सहभागी भई शिक्षकहरूलाई आधुनिक शिक्षण विधि, कक्षाकोठामा प्रविधिको प्रयोग, विद्यार्थी केन्द्रित सिकाइ तथा मूल्याङ्कन प्रणालीबारे प्रशिक्षण दिएका थिए।
तालिमका क्रममा सहभागी शिक्षकहरूलाई व्यवहारिक अभ्याससहित सिकाइलाई आकर्षक र प्रभावकारी बनाउने उपायहरूबारे जानकारी गराइएको थियो। विशेषगरी डिजिटल माध्यमको प्रयोग, अन्तरक्रियात्मक कक्षा सञ्चालन र नयाँ पाठ्यक्रमअनुसार शिक्षण गर्ने तरिकामा जोड दिइएको आयोजकले जनाएको छ। मयुर इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल पदम साउँदले वर्तमान शिक्षा प्रणालीअनुसार शिक्षकहरूको क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताउँदै यस्तो तालिमले शिक्षण पेशालाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले भने, “समयअनुसार शिक्षण विधि परिवर्तन भइरहेकाले शिक्षकहरूलाई नयाँ सीप र प्रविधिसँग अभ्यस्त गराउनु आवश्यक छ। यस्ता तालिमले कक्षाकोठामा गुणस्तरीय शिक्षा प्रदान गर्न सहज बनाउँछ।”


