धनगढी: नेपाली कांग्रेस सुदूरपश्चिमका देउवापक्षीय नेताहरूले सुदूरपश्चिम प्रदेशमा क्रियाशील सदस्यता अद्यावधिक नगर्ने निर्णय गरेका छन् । बिहीबार सुदूरपश्चिमका नेताकार्यकर्ताको भेला काठमाडौँको एक होटलमा बसेको थियो । केही समयअघि मात्रै क्रियाशील सदस्यता नवीकरण गरिसकेको र पार्टी लेबी पनि बुझाइसकेकाले अब सदस्यता अद्यावधिक नगर्ने निर्णय भएको एक नेताले बताए ।
‘तत्कालीन महामन्त्रीज्यूकै संयोजनमा क्रियाशील सदस्यताको नवीकरण भएको थियो, फेरि किन अद्यावधिक गर्नु पर्यो ? हामी त्यसको पक्षमा छैनौं’, भेलामा सहभागी एक नेताले भने, ‘वर्तमान नेतृत्वले देखाइरहेको रवैया ठीक भइरहेको छैन। हामी सदस्यता नवीकरण गर्ने पक्षमा छैनौं ।’ भेलामा सहभागी कांग्रेस नेताहरूले पार्टीमा एकताबद्ध हुन आवश्यक रहेको तर त्यसका लागि वर्तमान नेतृत्वले भूमिका खेल्नुपर्ने बताएका थिए ।
उनीहरूले आगामी महाधिवेशनका लागि आफूहरू तयार रहेको तर वर्तमान नेतृत्वबाटै महाधिवेशनमा जान नसकिने बताएका थिए । भेलामा सहभागी नेताहरूले सबै जिल्लामा पुग्ने गरी गतिविधि बढाउनुपर्ने बताएका थिए । भेलामा कांग्रेस सुदूरपश्चिमका प्रदेश सभापति वीरबहादुर बलायर, अघिल्लो महाधिवेशनमार्फत केन्द्रीय सदस्यमा निर्वाचित रमेश लेखक, नैनसिंह महर, डा. रणबहादुर रावल, नृप वड, सुशीला मिश्र भट्ट, गोविन्दबहादुर शाह र विद्या तिमल्सिना सहभागी थिए ।
यस्तै पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, कञ्चनपुर कांग्रेसका जिल्ला सभापति पदम बोगटी, कैलाली कांग्रेसका जिल्ला सभापति नारायण भट्ट, डोटी कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउँद र बझाङ जिल्ला सभापति खडक बोहरा पनि भेलामा सहभागी थिए। त्यसैगरी पूर्व सांसद अक्कल विष्ट, बाजुरा कांग्रेसका पूर्व जिल्ला सभापति कविराज पण्डित, कञ्चनपुर कांग्रेसका जिल्ला उपसभापति मीनबहादुर सिंह, महासमिति सदस्यहरू डा. उत्तरबहादुर ऐर, पुष्पकुमार शाही, गणेश विष्ट, नेपाल विद्यार्थी संघ सुदूरपश्चिमका अध्यक्ष कपिल केसी, नेविसंघका केन्द्रीय सदस्य रमेश कुँवरलगायतका नेताहरू पनि सहभागी थिए ।
देउवा पक्षका सुदूरपश्चिम प्रदेशका नेताहरू पहिलो पटक यसरी भेला भएर सामूहिक धारणा बनाएका हुन् । त्यस्तै अन्य प्रदेशमा पनि देउवा पक्षका नेताहरूले सामूहिक धारणा बनाउने जनाएका छन् ।


