धनगढी । कञ्चनपुरमा हातखुट्टा बाँधेर बालकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका-५ का ३७ वर्षीय भोज नाथ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।
उनकाअनुसार नाथलाई वेदकोट-५ कै ११ वर्षीय बालकमाथि हातखुट्टा बाँधेर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि पक्राउ गरिएको हो । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको डीएसपी शाहीले बताए । बालक चौधर नदीको पूर्वतर्फ रहेको नाथको तरकारी बारीमा क्रिकेट बल खोज्न गएका बेला खरभुजा चोरी गरेको भन्दै उनीमाथि कुटपिट गरिएको थियोे ।
कुटिपटबाट घाइते बालकको टाउकोमा रहेको घाउमा तीन वटा टाका लागेको डीएसपी शाहीले बताए । बालकका दुवै हातखुट्टा बाँधेर नाथले थप यातना दिएको भिडियो समेत सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । बालकका आमाबुवा मजदुरीको सिलसिलामा भारतमा छन् भने उनी वेदकोटमा बज्यैसँग बस्दै आएका थिए ।


