धनगढी। नेपाल वितरक महासंघको १४औं वार्षिक साधारण सभा भोलि र पर्सी (यही वैशाख ११ र १२ गते) सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हुने भएको छ । मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघका अध्यक्ष दुर्गा गौतमले साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार सभाको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले गर्नेछन् ।
आन्तरिक पर्यटन प्रवर्द्धन र देशभरका वितरकबीचको एकता मजबुत बनाउने उद्देश्यले धनगढीमा साधारण सभा आयोजना गरिएको हो, अध्यक्ष गौतमले भने । २०६६ सालमा स्थापना भएको महासंघ दैनिक उपभोग्य वस्तु द्रुत गतिमा बिक्री हुने उपभोक्ता वस्तुहरू (एफएमसीजी)को वितरण गर्ने जिल्ला वितरक संघहरुको छाता संगठन हो । १७ वर्षको अवधिमा महासंघ ४५ जिल्लामा विस्तार भइसकेको छ ।
महासंघले २०७२ सालको महाभूकम्प, २०७६ सालको कोभिड महामारी र २०८० सालको जाजरकोट भूकम्पको समयमा जोखिम मोलेरै अति आवश्यक वस्तुको आपूर्ति व्यवस्था चालु राखेको अध्यक्ष गौतमले स्मरण गरे । हामी नाफामुखि भन्दा पनि जिम्मेवारी लिएर आपूर्ति व्यवस्थापनको पुलको रुपमा काम गर्ने व्यवसायी हौं, उनले भने ।
पत्रकार सम्मेलनमा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढ्दा ढुवानी लागत महँगो भएको र हरेक पसलसम्म सामान पुर्याउन चुनौती थपिएको अध्यक्ष गौतमले जानकारी दिए । साधारण सभामा देशभरका ४५ जिल्लाका ३०० बढी वितरक प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।पत्रकार सम्मेलनमा कोषाअध्यक्ष तथा कार्यक्रम संयोजक मदनराज न्यौपाने, नि वर्तामान अध्यक्ष हरी राज पन्त ,राज कुमार श्रेष्ट, लगाएतको उपस्थिति रहेको थियो ।


