धनगढी: बिहीबार बिहान कैलाली उद्योग वाणिज्य संघको टोली त्रिनगर–गौरीफन्टा नाकामा पुग्यो । १ सय रुपैयाँभन्दा बढीको सामान स्थलमार्ग भएर आयात गर्दा भन्सार लाग्ने नियम कार्यान्वयनको अवस्था बुझ्न नाकामा पुगेको टोली सशस्त्र प्रहरी र एसएसबीसँग कुराकानी गरिरहेको थियो । सोही क्रममा सीमामै खटिएका एक नेपाली कर्मचारीले संघको टोलीलाई भने, ‘मुख्य नाकामा भन्दा भन्सार छलीका सामान बेच्ने नेपाली व्यवसायीमाथि निगरानी बढाउनुपर्यो ।’ अहिले पनि नेपाली बजारमा भन्सार छलीका सामान बिक्री भइरहेको आशय उनको थियो ।
‘भारतीय सीमावर्ती बजार नेपालीले चलाइदिएका हुन्,’ सीमानजिकै रहेको कञ्चनपुरको डोके बजारका एक व्यवसायीले भने, ‘सीमानजिक रहेका नेपाली बजार भन्सार छलीको सामानले चलेका छन् ।’ उनका अनुसार कैलालीको धनगढी, अत्तरिया, टीकापुरसँगै सीमानजिक रहेका दर्जनौँ साना बजार तथा कञ्चनपुरको महेन्द्रनगर, बेलौरीसहित अधिकांश बजारहरूमा भन्सार छलीका सामान बिक्री हुँदै आएका छन् । ‘किराना पसल ७० प्रतिशतभन्दा बढी र फेन्सी पसल ४० प्रतिशतभन्दा बढी भन्सार छलीका सामान बिक्री गरेर चल्दै आएका छन्,’ उनले भने ।
सीमानजिकका नेपाली व्यवसायीले क्यारिङमार्फत भारतीय बजारबाट सामान भित्र्याउँदै आएका छन् । १ सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार महसुल लाग्ने नियम कार्यान्वयनपछि किनमेलका लागि सीमावर्ती बजार पुग्नेको संख्या ह्वात्तै घटे पनि क्यारिङ गर्दै आएकाहरू भने अहिले पनि सामान आयात गर्दै आएका छन् । उनीहरूले सकभर मूल नाका र नभए खुला सिमानाको फाइदा उठाउँदै सामान नेपाल भित्र्याउने गरेका छन् । ‘अकाली दल’का नामले संगठित क्यारिङ गर्ने समूहमा अधिकांश महिलाहरू छन् । विगतदेखि नै सुरक्षा निकायहरूले आर्थिक अवस्था कमजोर भएका महिलाहरू भएको भन्दै उनीहरूलाई भन्सार छलेर सामान ल्याउन दिँदै आएको थियो । सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लाग्ने नियम कार्यान्वयन भए पनि सुरक्षा निकायकै सहयोगमा क्यारिङ गर्दै आएका महिलाहरूले सामान भित्र्याउँदै आएका छन् ।
यता सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी भने तस्करी नियन्त्रणमा २४ घण्टा नै निगरानी बढाइएको बताउँछन् । ‘विगतदेखि नै तस्करी गर्दै आएका व्यक्तिहरू अहिले पनि ठाउँठाउँमा कोसिस त गरिरहेका छन्,’ उनले भने, ‘तर, हामीले नियन्त्रण गर्दै आएका छौँ ।’ यता सीमा सुरक्षा गुल्म त्रिनगरले पनि भन्सार छली नियन्त्रणमा निगरानी बढाइएको जनाएको छ । गुल्मका अनुसार क्यारिङ गर्ने महिलाहरूबाट पटकपटक सामान बरामद गरिएको पनि छ । तर, ती महिलाहरूले भारतबाट सामान आयात गर्ने क्रम भने रोकिएको छैन । तिनै क्यारिङ गर्नेहरूले भन्सार छलेर नेपाली व्यवसायीको पसलसम्म सामान पुर्याउने गरेका छन् ।
कैलाली उद्योग वाणिज्य संघमा पनि नेपाली बजारमा भन्सार छलीको सामान बिक्री हुँदै आएको गुनासो पुग्ने गरेका छन् । संघका अध्यक्ष पुष्करराज ओझाले भन्सार छलीका सामान नियन्त्रणमा नियमनकारी निकायबाट निगरानी बढ्नुपर्ने बताउँछन् । ‘खुला सीमाका कारण थुप्रै समस्या छन्, मूल नाकामा मात्रै कडाइ भएर हुँदैन,’ उनले भने, ‘नेपाली बजार पनि अनुगमन हुनुपर्छ । सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’
उनले व्यापारीहरूलाई मूल्य पारदर्शी रूपमा राख्न र छुटको व्यवस्था गर्न आग्रह गरे । भारतीय सीमावर्ती बजारमा किनमेलका लागि जाने नेपालीको संख्या ८० देखि ९० प्रतिशतले घटेको पाइएको बताउँदै उनले अब चोरी निकासीमा निगरानी बढाउनुपर्नेमा जोड दिए । भन्सार महसुल ऐन, २०८१ मा स्थलमार्ग भएर भारतबाट सय रुपैयाँभन्दा बढीको सामान आयात गर्दा कर तिर्नुपर्ने प्रावधान छ । सोही अधिकार प्रयोग गरेर १ सय रुपैयाँभन्दा बढीको सामान भारतबाट आयात गर्दा कर लिने नियम लागू गरिएको हो ।


