धनगढी : कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरीको गुल्मभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका एक जनालाई कारागार चलान गरिएको छ।
जिल्ला अदालत कैलालीले बिहीबार थुनछेक बहसपछि टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउदलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार अदालतको आदेशलगत्तै साउदलाई सोही दिन कारागार चलान गरिएको हो। उनीविरुद्ध डीएसपी पौडेलले आपराधिक उपद्रव मुद्दा दर्ता गराएका थिए। उक्त घटनामा साउदसहित अन्य पाँच जनाविरुद्ध किटानी जाहेरी परेको थियो।
प्रहरीका अनुसार फरार रहेका टीकापुरकै नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का तथा भारतको लखिमपुर खिरी निवासी रशिद आलिखानको खोजी भइरहेको छ। उनीहरू पक्राउ परेपछि थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
गत महिना सशस्त्र प्रहरीले जिएसटी बिल र भारतीय भन्सार पास भएका सामान जफत गरेपछि उत्पन्न विवादसँग जोडिएको हो। व्यवसायी पक्षले आपत्ति जनाउँदै टीकापुर उद्योग वाणिज्य संघको टोलीसहित गुल्ममा छलफलका लागि पुगेका बेला विवाद चर्किँदा डीएसपीसहितका सुरक्षाकर्मीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।
पछि सशस्त्र प्रहरीले बिल–बिजक परीक्षण गर्दा आवश्यक कागजात भेटिएपछि उद्योग वाणिज्य संघमार्फत सम्बन्धित व्यवसायीलाई सामान फिर्ता गरिएको थियो। घटनापछि ड्युटीमा रहेका डीएसपीसहितका सशस्त्र प्रहरीलाई हेडक्वार्टर तानेर छानबिन प्रक्रिया अघि बढाइएको छ। यता भने नयाँ टोली खटाइएकोमा कैलालीका गणपति (एसपी) समेतलाई सचेत गराइएको छ।


