कञ्चनपुर — कञ्चनपुरस्थित महाकाली नदी मा डुबेर एक पुरुष बेपत्ता भएका छन्। शुक्लाफाँटा नगरपालिका–७ कालागौडी निवासी ४५ वर्षीय प्रकाश सिंह आज बिहान करिब साढे ११ बजेतिर नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्। प्राप्त जानकारी अनुसार सिंह भीमदत्त नगरपालिका–११ भुजेलाघाट क्षेत्रमा मलामी गएका थिए। मलामीकै क्रममा महाकाली नदीमा नुहाउन पसेका उनी अचानक बेपत्ता भएका हुन्। उनी शुक्लाफाँटा नगरपालिका–७ कै धना भट्टको मलामी गएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी सक्रिय रूपमा खोजीकार्यमा जुटेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर कार्कीको कमाण्डमा ५ जनाको टोली, प्रहरी चौकी झोलुङ्गेबाट प्रहरी सहायक निरीक्षक नमराज भट्टको कमाण्डमा ३ जना तथा अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट प्रहरी वरिष्ठ हवल्दार नरेन्द्र बिष्टको कमाण्डमा ३ जनाको टोली परिचालन गरिएको छ।
प्रहरीले स्थानीयवासीसँग समन्वय गर्दै महाकाली नदी आसपासका क्षेत्रमा व्यापक खोजीकार्य जारी राखेको जनाएको छ। नदीको बहाव तीव्र भएका कारण खोजीमा केही कठिनाइ भएको बताइएको छ। हालसम्म बेपत्ता सिंहको अवस्था अज्ञात रहेको छ भने खोजीकार्यलाई अझ तीव्र बनाइएको प्रहरीले जनाएको छ।


