काठमाडौं: काठमाडौंको तारकेश्वरमा भएको दुर्घटनामा गम्भीर घाइते भएका ट्राफिक प्रहरीका इन्स्पेक्टर अभय लामाको उपचारको क्रममा निधन भएको छ। बिएण्डबी अस्पतालमा शनिबार उनको निधन भएको हो। आइतबार बेलुका तारकेश्वर नगरपालिका– ८, डाँडागाउँमा भएको दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए।
लामा सवार रहेको बा. प्र०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा. प्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । लामा ड्युटी सकेर मोटरसाइकलमा फुटुङस्थित घरतर्फ जाँदै थिए। विपरीत दिशाबाट आएको ट्रकले उनलाई ठक्कर दिएको हो। उनी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए।
ठक्कर दिने ट्रकचालक मकवानपुरको मनहरी– ५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

