धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई लक्षित गर्दै दंगा तथा भिड नियन्त्रण सम्बन्धी विशेष अभ्यास तालिम सम्पन्न गरिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीको निर्देशनमा चैत ८ गतेदेखि सुरु भएको तालिम चैत १६ गते औपचारिक रूपमा सम्पन्न भएको हो।
प्रहरी गण परिसरमै सञ्चालन गरिएको उक्त तालिम तीन चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो। तालिमका क्रममा प्रहरीहरुलाई भिड नियन्त्रणका आधुनिक प्रविधि, भीड व्यवस्थापनका रणनीति, आकस्मिक परिस्थितिमा अपनाउनुपर्ने सुरक्षा उपाय, तथा बल प्रयोग गर्दा अपनाउनुपर्ने मापदण्डका विषयमा सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराइएको थियो। तालिममा सहभागी प्रहरी कर्मचारीहरुलाई दंगा तथा भीड नियन्त्रणका क्रममा प्रयोग गरिने उपकरणको सही प्रयोग, समन्वयात्मक कार्यशैली, तथा उच्च जोखिमयुक्त अवस्थालाई कसरी सुरक्षित रूपमा नियन्त्रणमा लिन सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो।
तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रहरी गणका प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र थापाले पछिल्लो समय विभिन्न कारणले सिर्जना हुन सक्ने सम्भावित भिड तथा अशान्त अवस्थालाई मध्यनजर गर्दै प्रहरी सधैं तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याए। उनले यस्ता तालिमले प्रहरीको क्षमता अभिवृद्धि हुनुका साथै चुनौतीपूर्ण परिस्थितिमा प्रभावकारी रूपमा परिचालन हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे। थापाले भने, “शान्ति सुरक्षा कायम गर्नु प्रहरीको प्रमुख दायित्व हो। कुनै पनि आकस्मिक परिस्थितिमा छिटो, संयमित र प्रभावकारी रूपमा प्रतिक्रिया दिन सक्ने क्षमताको विकासका लागि यस्ता तालिम अत्यन्त आवश्यक छन्।”
प्रहरी संगठनले समय–समयमा यस्ता अभ्यास तालिम सञ्चालन गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। यसले प्रदेशभर शान्ति सुरक्षा कायम गर्न तथा सम्भावित जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


