काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेरबहादुर देउवामाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भएकोप्रति गम्भीर चासो व्यक्त गरिएको छ ।
नेता डा. रणबहादुर रावलले सम्पत्ति शुद्धीकरणको नाममा षड्यन्त्र हुनसक्ने भन्दै पार्टी पङ्क्ति जिम्मेवार हुनुपर्ने बताए । उनले भने, ‘शेरबहादुर दाइको सम्पत्तिकाबारेमा धेरै अफवाह फैलाइएको छ । देउवा दाइको त आफ्नै सम्पत्ति धेरै के नै छ र ? भाउजूको नाममा भएको सम्पत्ति पनि दाइजोको हो । सम्पत्ति शुद्धीकरणको नाममा दुःख दिने प्रयास हुनसक्छ ।’
विगतमा नै पार्टी नेतृत्वको घर जल्दासमेत विशेष महाधिवेशन पक्षधरले पैसा जल्यो भनेर जनतामा भ्रम फैलाएको र चुनावलाई असर परेको उनले टिप्पणी गरे ।
गण्डकी प्रदेशसभा सदस्य समेत रहेकी नेतृ सरस्वती अर्याल तिवारीले पनि देउवाको घरमा पैसा जलेको अफवाह फैलाएर कांग्रेस हराउने काम कांग्रेसकै नेताहरूले गरेको बताइन् ।

