धनगढी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले रोमाञ्चक जित दर्ता गरेको छ । विरगञ्जको नारायणी क्रिकेट मैदानमा शुक्रबार समपन्न खेलमा सुदूरले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीले दिएको १३१ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्याे ।
सुदूरपश्चिमका लागि खडक बोहोराले आक्रामक ब्याटिङ गर्दै ४५ बलमा ६६ रन बनाए । उनले ९ चौका र ३ छक्का प्रहार गर्दै खेलको दिशा नै परिवर्तन गरे। किरण थगुन्ना २५ रनमा अविजित रहँदा लोकेन्द्र चन्दले ६ रन जोड्दै टोलीलाई जितसम्म पु¥याए । टिमको सुरुवात भने सामान्य रह्यो। अभिषेक पाल १४ रनमा आउट भए भने प्रकाश पाण्डे ४ रनमै पेभिलियन फर्किए। तर त्यसपछि खडक बोहोराले आक्रामक खेल्दै मध्यमक्रम सम्हाले ।
बलिङतर्फ विपिन महतोले २ विकेट लिए भने ज्ञानन्द्र श्रेष्ठले १ विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेश ४३.४ ओभरमा १३० रनमै अलआउट भएको छ । कोशीका लागि सुमन श्रेष्ठले सबैभन्दा बढी २४ रन बनाए भने शिवाश बजगाईंले २५ रनको योगदान दिए। दीपेश कँडेलले २० रन जोड्दा अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन । शाकिब हक १५ र फिर्दोस अन्सारी १८ ले सुरुवात राम्रो गरे पनि त्यसलाई ठूलो इनिङमा परिणत गर्न सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले उत्कृष्ट प्रदर्शन गर्दै ९ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । नारायण जोशी र सौर्य श्रेष्ठले समान १–१ विकेट लिए भने किरण थगुन्नाले २ विकेट हात पारे ।

