धनगढी: सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन लामो समयदेखि ठप्प रहे पनि सांसदहरू भने महँगा होटलमा हुने तालिम र गोष्ठीमा व्यस्त देखिएका छन्। खर्च कटौतीका लागि संघीय सरकारले दिएको निर्देशनको बेवास्ता गर्दै प्रदेशस्तरमा यस्ता कार्यक्रम सञ्चालन भइरहेका हुन्। जेठ ११ गते सुरु भएको बजेट अधिवेशन माघ २५ गते अन्त्य भएपछि हिउँदे अधिवेशन बोलाउनेबारे अहिलेसम्म कुनै तयारी गरिएको छैन। संसद निष्क्रिय जस्तै अवस्थामा रहे पनि चैत १ गते ‘नीति निर्माण तथा योजना तर्जुमा एआईको प्रयोग’ सम्बन्धी क्षमता विकास कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रम सुदूरपश्चिम अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको थियो।
उक्त कार्यक्रम चिसापानीस्थित महँगो होटलमा सञ्चालन गरिएको थियो। त्यसको एक सातापछि कैलालीको खानिडाँडामा ‘महिला समन्वय समितिको भूमिका तथा योजना तर्जुमा’ विषयक अर्को कार्यक्रम तीन दिनसम्म सञ्चालन भइरहेको छ। यी दुवै कार्यक्रम तारे होटलमा आयोजना गरिएका हुन्। यता, जेन्जी आन्दोलनपछि संघीय सरकारले अनावश्यक गोष्ठी, सेमिनार तथा तालिम कार्यक्रम नगर्न प्रदेश सरकारहरूलाई परिपत्र जारी गरेको थियो। अर्थ मन्त्रालयले असोज ७ गते पठाएको परिपत्रमा अत्यावश्यक बाहेकका कार्यक्रम नगर्ने, गर्नै परे सरकारी हल वा अनलाइन माध्यम प्रयोग गर्ने स्पष्ट निर्देशन दिएको थियो।
तर ती निर्देशनको विपरीत प्रतिष्ठानले सांसदहरूलाई होटलमै बोलाएर कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ। यसअघि यस्ता कार्यक्रम प्रदेश सभा सचिवालयमार्फत सञ्चालन हुने गरे पनि यसपटक भने प्रक्रिया मिचिएको देखिन्छ। चैत १ गतेको कार्यक्रममा सभामुख भीम भण्डारीले अवरोध गरेपछि आयोजकले सांसदहरूलाई प्रत्यक्ष सम्पर्क गरेर सहभागी गराएको स्रोतको दाबी छ। सचिवालयले सुरुमा सूचना जारी गरे पनि पछि कार्यक्रम स्थगित गरिएको सूचना निकालिएको थियो।
सभामुख भण्डारीले सांसदसँग सम्बन्धित कार्यक्रम सचिवालयमार्फत नै सञ्चालन गर्नुपर्ने र सरकारी सभाहल प्रयोग गर्दा खर्च बचत हुने भएकाले आफूले स्वीकृति नदिएको बताएका छन्। “अहिले अनावश्यक खर्च गरेर बजेट सक्ने काम गर्नु उपयुक्त होइन,” उनले भने, “महँगो होटलमा कार्यक्रम गरेर उपलब्धि हासिल हुँदैन।” यद्यपि सभामुखको असहमति बेवास्ता गर्दै उपसभामुख कोइलीदेवी चौधरीसहित केही सांसदहरूलाई प्रत्यक्ष सम्पर्क गरी कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।
सार्वजनिक लेखा समितिका सभापति अक्लल रावलले पनि यस्तो अभ्यासप्रति आपत्ति जनाएका छन्। “देश अहिले गम्भीर आर्थिक अवस्थामा छ। यस्तो बेला अनावश्यक खर्च गर्नुको सट्टा नीति निर्माणमा ध्यान दिनुपर्छ,” उनले भने, “व्यवस्थामाथि नै प्रश्न उठिरहेका बेला यस्ता गतिविधिले झनै नकारात्मक सन्देश दिन्छ।” संसद निष्क्रिय अवस्थामा रहँदा सांसदहरू होटलकेन्द्रित कार्यक्रममा व्यस्त देखिनुले प्रदेश सरकारको प्राथमिकतामाथि प्रश्न उठ्न थालेको छ।

