धनगढी र बझाङ — बाजुरा र बझाङ अधिकांश निर्वाचनमा अशान्त हुने भएकाले यहाँका मतदाता यो निर्वाचनमा पनि स्वतन्त्र र निष्पक्ष ढंगले मतदान गर्न पाइएला कि नपाइएला भन्ने चिन्तामा छन् । सुदूरपश्चिमका यी दुई जिल्लामा विगतका निर्वाचनमा धाँधली, बुथ कब्जा, फर्जी मत, कुटपिट र हत्यासम्मका घटना हुँदै आएका छन् ।
बाजुरामा जहाँ जुन पार्टीको बाहुल्यता छ, त्यहाँको मतदानस्थलमा उक्त पार्टीका कार्यकर्ताले बुथ कब्जा गर्ने गरेको विगतको अनुभव रहेको बडिमालिका क्याम्पसका पूर्वप्रमुख वीरबहादुर कटुवाल बताउँछन् । ‘०७९ को निर्वाचनमा म मतदान केन्द्रमा पुग्दा मेरै भोट अर्काले खसालिसकेको रहेछ,’ हाल पनि सोही क्याम्पसमा प्राध्यापन गर्दै आएका कटुवालले भने, ‘बाजुरामा अर्काको मत खसाल्ने, अशक्तको मत खसालिदिने, अनुपस्थित रहेका मतदाताको पनि लगभग सबै मत खसाल्ने, झडप र धाँधली गर्ने, कर्मचारीको मिलेमतो हुनेलगायतका प्रवृत्ति छन् ।’
आफू जत्तिको सचेत मतदातालाई समेत निगरानी गरिन्छ र अर्कैले मत खसालिदिन्छ भने सर्वसाधारणको अवस्था कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिने उनको भनाइ छ । ‘बाजुराका मुख्य दलहरू एमाले र कांग्रेस दुवै पार्टीका कार्यकर्ताहरू आआफ्नो ठाउँमा बुथ कब्जा गर्न सक्रिय हुने गरेको विगतको इतिहास छ,’ कटुवालले भने, ‘यसपालि सबैले स्वेच्छाले मतदान गर्न पाउलान् कि नपाउलान् ।’
जयपृथ्वी नगरपालिका–१ की ४७ वर्षीया सिद्धादेवी सिंह भोट हाल्न पाउने उमेर भएपछि सम्पन्न भएका कुनै पनि चुनावमा आफैंले भोट खसाल्न नपाएको बताउँछिन् । ‘विवाह गरेर आएदेखि गाउँमा आठ पटक चुनाव भइसक्यो, तर मैले कुनै पनि चुनावमा आफ्नो भोट आफैंले हाल्न पाएकी छैन,’ ६ कक्षासम्म अध्ययन गरेकी र लेखपढ गर्न मात्र होइन फेसबुकलगायत सामाजिक सञ्जाल चलाउने उनी भन्छिन्, ‘भोट हाल्न जानुपर्छ भनेर घरमै बोलाउन आउँछन् । लाइन लगाउँछन् । भोट हाल्ने बेला तपाईं बिगार्नु हुन्छ, हामी हालिदिन्छौं भनेर मतपत्र खोस्छन्, भोट अरूले नै हाल्छन्, नङमा कालो मसी मात्र लाइदिन्छन् ।’ बझाङकै जयपृथ्वी नगरपालिका–१ की मतदाता डल्लीदेवी सिंह निर्वाचनमा आफूले आफ्नो स्वेच्छाले मत खसाल्न नपाएको गुनासो गर्छिन् । ‘आफू मतदान गर्न पुग्दासम्म अरूले भोट हालिसकेका हुन्छन्,’ उनले भनिन्, ‘यसअघिको निर्वाचनमा तिमी मत हाल्न जान्दिनौ भनेर खोसेर अरूले मत हालिदिए, सधैं त्यस्तै हुन्छ ।’
आसन्न निर्वाचनका लागि सुरक्षा निकायले उच्च सुरक्षा सतर्कताको योजना बनाएको दाबी गरेको छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले बाजुरा र बझाङलाई उच्च सुरक्षा सतर्कताको सूचीमा राखेको बताए । ‘सुरक्षाकर्मीको संख्या बढाउने, मतदानस्थललाई सीसीटीभीको निगरानी गर्नेदेखि ड्रोन क्यामरा प्रयोग गर्नेसम्म छलफल गरिरहेका छौं,’ उनले भने, ‘ससाना व्यवस्थापनका कुरा पनि केलाइरहेका छौं, आफैंले मतदान गर्न नसकेर अर्कोमार्फत मतदान गर्नुपर्ने अशक्त मतदाताहरूको पनि अग्रिम पहिचान गर्ने तयारी गरिरहेका छौं ।’
सशस्त्र प्रहरी सुदूरपश्चिमका निमित्त वाहिनीपति दिग्विजय सुवेदीले बाजुरा र बझाङमा दोब्बर संख्यामा पेट्रोलिङ परिचालन गर्ने व्यवस्थापन गरिएको बताए । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बदनाम हुने विगतलाई दोहोरिन नदिने गरी तयारी गरिरहेको बताए । ‘मतदानस्थलमा ड्रोन क्यामरा प्रयोग गर्नेबारे पनि छलफल गरिरहेका छौं । सीसीक्यामरा सबैतिर जडान गर्छौं,’ प्रजिअ निरौलाले भने, ‘सुरक्षा जनशक्ति थप गर्नुका साथै, निर्वाचनमा खटिने कर्मचारीलाई विशेष ढंगले प्रशिक्षित गर्दै छौं ।’ बाजुरामा ०४८ यताका हरेक निर्वाचनमा घटना हुँदै आएका छन् ।
०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा दुई युवाको मृत्यु भएको थियो । झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतदाता लखेटिएका, सुरक्षाकर्मीद्वारा दर्जनौं मतदानस्थलमा दिनभर हवाई फायर लगायतका घटना भएर मतदानका क्रममा बाजुरा दिनभर अशान्त र तनावग्रस्त भएको थियो । त्यसक्रममा २४ मतदान केन्द्र कब्जा भएको प्रमुख दलहरूकै दाबी थियो । मतदानको दिन प्रहरीको गोली लागेर त्रिवेणी नगरपालिका–६ का कांग्रेस समर्थित युवा सञ्जीव अयडीको मृत्यु भएको थियो । त्यसै राति सोही नगरपालिका–७ का एमाले समर्थित अनेरास्ववियुका केन्द्रीय सदस्यसमेत रहेका चेतन अयडीलाई स्थानीयले कुटपिट गरी हत्या गरेका थिए । मतगणना सुरु हुन १४ दिन लागेको थियो ।
०७९ र ०७४ का निर्वाचन मात्र होइन, त्यसअघिका अधिकांश निर्वाचनमा पनि धाँधली र झडपका घटना हुँदै आएका छन् । ०५४ को स्थानीय निर्वाचनमा बुढीगंगामा भएको झडपका क्रममा गोली चल्दा एक बालकसहित दुई जनाको मृत्यु भएको थियो । ०७९ को स्थानीय निर्वाचनका क्रममा पनि बाजुराका विभिन्न मतदान केन्द्र तनावग्रस्त भएका थिए । बुढीगंगा नगरपालिकाका अधिकांश मतदान केन्द्रमा धाँधली भएपछि पुनः मतदान गराइएको थियो ।
बाजुरा र बझाङको अर्को समस्या फर्जी मत खसाल्ने प्रवृत्ति पनि स्वतन्त्र निर्वाचनका लागि बाधक रहँदै आएको छ । ०७४ को स्थानीय निर्वाचनमा बाजुरा सबैभन्दा बढी मत खसेको जिल्ला हो । बुढीगंगा नगरपालिकाका केही मतदान केन्द्रमा ९९ प्रतिशतभन्दा बढी मतदान भएको थियो । जिल्लाका अन्य कतिपय मतदान केन्द्रमा पनि सोही हाराहारीमा मतदान भएको तथ्यांक छ । ०७४ कै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बाजुरामा ८० प्रतिशत मतदान भएको थियो । ०७९ को निर्वाचनमा सुर्मा गाउँपालिकाका १ र २ का दुई वटा मतदानस्थलमा बुथ कब्जा गरेर फर्जी मत खसाल्न खोजेपछि मतदान नै स्थगित भएको थियो । सोही निर्वाचनमा छबिसपाथीभेरा १ को गुरेलथुम मतदानस्थलमा पनि दुई पक्षबीच झडपको स्थिति उत्पन्न भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक जना प्रहरी घाइतेसमेत भएका थिए ।
बझाङमा ०७९ कै स्थानीय तहको निर्वाचनमा जयपृथ्वी नगरपालिका–६ को सुनिपीपलचौर माध्यमिक विद्यालय सुवेडामा फर्जी मत खसाल्न थालेपछि अर्को पक्षले मतपेटिका तोडफोड गर्दा पुनः मतदान गर्नुपरेको थियो । स्थानीयका अनुसार कतिपय मतदान केन्द्रमा खटिएका कर्मचारी तथा प्रहरी सुरक्षाकर्मीसमेत स्वतन्त्र मतदान प्रभावित गर्न मिलेमतोमा लाग्ने गरेका छन् । ०७९ कै निर्वाचनमा केदारस्युँ गाउँपालिका–२ को मतदान केन्द्रमा पनि फर्जी मत खसेको थियो । एमालेका निर्वाचन प्रतिनिधि रहेका प्रशान्त भण्डारीलाई नियन्त्रणमा लिइसकेपछि उपस्थित नभएका मतदाताको नाममा फर्जी मत खसाल्ने काम भएको एमालेका जिल्ला कमिटी सचिव नयन बोहरा बताउँछन् ।
आसन्न निर्वाचनमा पनि बाजुरा र बझाङमा स्वतन्त्र र निष्पक्ष मतदान गर्न नपाइएला कि भन्ने चिन्तामा छन् सर्वसाधारण । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार कुल ७७ मतदानस्थलमध्ये ६२ अति संवदेनशील, १२ संवेदनशील सूचीमा राखिएको छ भने तीन वटालाई मात्र सामान्यमा राखिएको छ । बझाङमा विगतका निर्वाचनका क्रममा भएका घटना र गतिविधिका आधारमा जिल्ला सुरक्षा समिति बझाङले सुरक्षा योजना तयार गरेको जनाएको छ । बझाङमा कुल एक सय ३७ मतदानस्थलमध्ये ८५ वटा अतिसंवेदनशील र ४९ वटा संवेदनशीलको सूचीमा राखिएको छ । । बझाङमा पनि सुरक्षाका दृष्टिले सामान्य मतदानस्थल भने तीन वटा मात्रै रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी बताउँछन् ।
फर्जी मत खसाल्ने प्रवृत्तिप्रति सुरक्षा संयन्त्र जानकार रहेको र आउने निर्वाचनमा विगत जस्तो हुन नदिने प्रमुख जिल्ला अधिकारी केशरी बताउँछन् । ‘विगतको रेकर्ड र अहिलेको अवस्था सबै हेरेर हामीले मतदानस्थलको सुरक्षाको मिहिन विश्लेषण गरेका छौं । त्यहीअनुसार सुरक्षा रणनीति पनि तयार गरेका छौं,’ उनले भने, ‘यो निर्वाचनमा बुथ कब्जा गर्ने, फर्जी मत खसाल्ने कुरा कसैले नसोचे पनि हुन्छ ।’ उनले अतिसंवेदनशील र सुरक्षा टोली पुग्न ३० मिनेटभन्दा बढी समय लाग्ने मतदानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली मतदान अवधिभर तैनाथ रहने व्यवस्था गरिएको बताए ।
आसन्न निर्वाचनको प्रतिस्पर्धामा बाजुरामा आठ जना उम्मेदवार छन् । कांग्रेसबाट जनकराज गिरी, एमालेबाट लालबहादुर थापा, नेकपाबाट प्रकाश शाह, रास्वपाबाट हेमराज थापा, राप्रपाबाट केशरबहादुर शाही, माओवादीबाट भूपेन्द्र विक, प्रलोपाबाट दीपक डीसी र स्वतन्त्रबाट उपेन्द्र शाही चुनावी मैदानमा छन् । यस्तै बझाङमा एमालेबाट ऐन महर, कांग्रेसबाट प्रकाश रसाइली स्नेही, नेकपाबाट मीनबहादुर कुँवर, रास्वपाबाट शैलेशकुमार सिंह, राप्रपाबाट विश्व जेठारा, माओवादीबाट भरत मल्ल, जनमोर्चाबाट दलबहादुर धामी प्रतिस्पर्धामा छन् ।कान्तिपुरबाट


