कञ्चनपुर । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवारहरू आ–आफ्ना एजेन्डा बोकेर चुनाव प्रचारमा होमिएका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ मा प्रमुख तीन राजनीतिक दलका एजेन्डा भने समान देखिन्छन् ियस क्षेत्रमा नेकपा एमालेका दीपक प्रकाश भट्ट, नेपाली कांग्रेसका हरि प्रसाद बोहरा र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मानबहादुर सुनारले मतदाता सामु उस्तै खालका एजेन्डा अघि सारेका छन् । वैकल्पिक शक्तिका रूपमा मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भने बुधबार आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेकाले कुराकानी गर्न सम्भव भएन ।
बुधबार रास्वपा बाहेक यी प्रमुख तीन वटै दलका उम्मेदवार कञ्चनपुर–३ का विभिन्न स्थानमा चुनाव प्रचार कार्यक्रममा व्यस्त थिए । एमालेका उम्मेदवार भट्ट दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० का विभिन्न टोलमा मतदातालाई भेला गरी कोणसभामार्फत आफ्ना धारणा राख्दै थिए । सोही क्रममा रातोपाटीसँग कुराकानी गरेका भट्टले महाकाली र जोगबुढा नदीमा तटबन्धलाई पूर्णता दिने, सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइ रोजगारीका अवसर सिर्जना गर्ने एजेन्डा मतदातासमक्ष राखेको सुनाए ।
०७४ को निर्वाचनमा आफू यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पक्की सडक निर्माण सुरु गरेको जिकिर गर्दै भट्टले आफू निर्वाचित भएमा बाँकी क्षेत्रमा पनि पक्की सडक निर्माण गर्ने प्रतिबद्धता जनाए । नेपाली कांग्रेसका उम्मेदवार हरि प्रसाद बोहरा बुधबार बिहानैदेखि भीमदत्त नगरपालिका– ९, खल्ला मछेट्टीमा घरदैलोमा व्यस्त थिए । सोही वडाको ब्रह्मदेवमा मध्याह्न भेटिएका उनले पनि रातोपाटीसँग आफ्ना एजेन्डा सुनाउने क्रममा सुक्खा बन्दरगाह छिटै निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउने र स्थानीयवासीलाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
नेपाली कम्युनिस्ट पार्टीका मानबहादुर सुनारले पनि सुक्खा बन्दरगाह निर्माण सम्पन्न गराएर त्यसको प्रतिफल यहाँका स्थानीयका साथै सिङ्गो देशले नै प्राप्त गर्ने वातावरण निर्माणमा ध्यान दिने बताए । उनले शुक्लाफाँटा निकुञ्जलाई व्यवस्थित बनाएर पर्यटक आगमनलाई बढाउन सकिने बताए ।
एमाले उम्मेदवार भट्टका एजेन्डा
०७४ को निर्वाचनमा म निर्वाचित भएपछि जोगबुढा नदीको तटबन्ध निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको थियो । अब बाँकी रहेको कामलाई अघि बढाउने सोच छ । महाकाली नदीमा पक्की तटबन्ध बनाउनुका साथसाथै चक्रपथ बनाउने योजना अघि सारिएको थियो, जसको डीपीआर तयार छ । त्यो काम अहिले थाँती रहेको छ, त्यसलाई अब अगाडि बढाउनुपर्ने छ । यहाँ लालपुर्जाको समस्या निकै पेचिलो बनेको थियो । त्यसमा भूमि आयोगले काम गरेको छ । कतिपयले त अहिले लालपुर्जा पाइसक्नु भएको छ । रौटेला नदीमा बाढी नियन्त्रणको सन्दर्भमा निकै डरलाग्दो अवस्था छ ।
मझगाउँ विमानस्थल सञ्चालन गर्ने वातावरण निर्माण गर्ने योजनालाई अघि बढाउने प्रतिबद्धता जनाएको छु । सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यो ठाउँ नेपाल, भारत र चीनको त्रिदेशीय व्यापार–व्यवसायको केन्द्र हुन सक्छ । चीनसँग यसअघि भएको सम्झौतामा टेकेर हामीले सुक्खा बन्दरगाहलाई भारतसँगमात्र नभएर चीनसँग पनि जोड्न सक्छौँ । यसतर्फ पनि मेरो पहल हुनेछ । यसले यो क्षेत्रमा रोजगारी, स्वरोजगार र आर्थिक विकासका लागि ठुलो टेवा दिने देखिन्छ । निकुञ्जलाई हामीले पर्यटकीय आकर्षणको केन्द्र बनाउने गरी आवश्यक प्रचार–प्रसार र पर्यटकमैत्री बनाउन सक्छौँ । यहाँ धार्मिक र वाइल्डलाइफ पर्यटनको प्रचुर सम्भावना छ । त्यसमा केन्द्रित रहेर काम गर्न सकिन्छ ।
धार्मिक जैविक पर्यटन मार्ग निर्माणको योजना पनि छ । चुरे र बस्ती बिचको बाटोमा ट्रयाक खोल्ने काम भयो । एक वर्ष १० र अर्को वर्ष १५ करोड बजेट हालेर पिच गर्ने काम सुरु भएको थियो तर काम सकिएको छैन । त्यसको अधुरो कामलाई पूरा गर्ने मेरो योजना छ । युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्नु छ । प्रवासनमा जाने क्रम न्यूनीकरण गर्ने र गइसकेकाहरूलाई देशमै फर्किने वातावरण बनाउनका लागि उनीहरूको दक्षता अनुसार रोजगारीका अवसर सिर्जना गर्नुपर्ने हुन्छ । यसका लागि महाकाली नदीमा अहिले बनेको पुलकै छेउमा बनाइएका चार वटा पोखरीमा पनि रोजगारी र पर्यटकीय सम्भावना हामीले देखिरहेका छौँ । त्यहाँ हामीलाई विद्युत् उत्पादनसम्मका सुझाव आइरहेका छन् ।
मुख्यतया यहाँका खोला, नदीमा तटबन्ध गर्ने, बाटो पिच गर्ने काम स्थानीय तह र प्रदेश सरकारबाट हुने नै छन् । त्यसमा पनि संघीय सांसदका रूपमा मैले निर्वाह गर्ने समन्वयकारी भूमिका निर्वाह गरेर यस क्षेत्रको विकासमा योगदान गर्न सक्छु भनेर मैले मतदातालाई विश्वास दिलाइरहेको छु ।
कांग्रेस उम्मेदवार बोहराका एजेन्डा
निर्माणाधीन सुक्खा बन्दरगाहलाई जोड्ने गरी नेपाली कांग्रेसकै पहलमा महाकाली नदीमा चार लेन पक्की पुल निर्माण भएको छ । सुक्खा बन्दरगाहको काम अगाडि बढिसकेको छ । पर्यटनमा फोकस गर्ने काम भइरहेको छ । यहाँ आरक्ष छ । बाह्रसिंगेका बथान छन् त्यहाँ । त्यसबाट पर्यटक भित्र्याउने अथाह सम्भावना छ । त्यसका लागि केही काम गर्नुपर्ने हुन्छ । मैले धार्मिक पर्यटनको पनि कुरा उठाएको छु । हरिहर घाट, भुम्किनी धाम र विष्णु मन्दिरलाई लक्षित गर्दै धार्मिक पर्यटन केन्द्रका रूपमा अघि बढाउने योजना अघि सारेको छु । धार्मिक पर्यटन किन पनि महत्त्वपूर्ण छ भने कुम्भ मेलामा नेपालीहरू भारत जान्छन् । यो वर्ष ६० लाख नेपाली तीर्थयात्री भारतको कुम्भ मेलामा सहभागी भए भन्ने आकलन छ । एक नेपालीले १० हजार भारतीय रुपैयाँमात्र खर्च गर्दा पनि ठुलो परिमाणमा नेपाली मुद्रा बाहिरिन्छ । हामीले भारतीय नागरिकलाई त्यसैगरी धार्मिक पर्यटकका रूपमा नेपाल भित्र्याएर अर्थतन्त्र चलायमान बनाउन सक्छौँ । त्यसैले पनि धार्मिक पर्यटनमार्फत देशको अर्थतन्त्रमा योगदान दिन र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्न मैले यो एजेन्डा अघि सारेको हुँ ।
महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको चार कुनामा पोखरी छ । ती पोखरीलाई तालको रूपमा परिणत गरी पर्यटकलाई आकर्षित गर्न डुंगा सञ्चालन गर्ने योजना अघि बढाएको छु । यहाँका नागरिकलाई रोजगारीका निम्ति यही ब्रह्मदेव क्षेत्रमा निजी क्षेत्रसँग कुरा चलाएर केबलकार सञ्चालन गर्न सकिन्छ कि भन्ने पनि लागेको छ । चीनसँग जोड्ने गरी महाकाली करिडोरलाई पूर्णता दिन सकेमा देशको अर्थतन्त्रमा पनि ठुलो सहयोग पुग्छ । अहिले सरुवा रोगभन्दा पनि नसर्ने रोग निकै गम्भीर रूपमा देखा परेको छ । कतिपय त्यस्ता रोगको समयमै पहिचान हुन नसक्दा गरिब तथा विपन्न नागरिकलाई ठुलो क्षति हुने गरेको छ । कमसे कम ज्येष्ठ नागरिकलाई घर–घरमा गएर रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क चेकजाँच गर्न सकेमा ती रोग समयमै पहिचान हुन नसकेर बेहोर्नुपर्ने क्षति कम गर्न सकिन्छ भन्ने मेरो सोच छ ।
यहाँ जङ्गली हात्तीले बालीनाली नोक्सानी गर्ने क्रम बढेका कारण कृषि बालीको बीमा गर्ने व्यवस्था सरकारले गरिदेओस् भन्ने जनअपेक्षा छ । त्यसलाई पनि मैले आफ्नो एजेन्डाका रूपमा अघि सारेको छु ।
नेकपाका उम्मेदवार सुनारको एजेन्डा
यो निर्वाचन क्षेत्र अन्तर्गत नदी किनारका बस्तीमा वर्षौंदेखि बाढीको समस्या छ । भीमदत्त र बेदकोटमा खहरे खोलाले क्षति पु(याउँदै आएको छ । त्यसलाई नियन्त्रण गर्नुपर्ने छ । सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आर्थिक रूपमा यो क्षेत्र समृद्ध हुन्छ र स्थानीयवासीले पनि त्यसको फाइदा पाउँछन् । यसलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न धेरै काम गर्नुपर्ने छ । मझगाउँ विमानस्थल पनि नमूना विमानस्थलका रूपमा निर्माण गर्ने योजना छ । शुक्लाफाँटा निकुञ्जमा बाह्रसिंगाको ठुलो झुन्ड छ, त्यसलाई केही व्यवस्थित गरेर पर्यटक आगमन बढाउन सकिन्छ । सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नुपर्ने छ । रोजगारी, शिक्षा र स्वास्थ्यका विषय पनि छन् । तिनलाई कसरी समाधान गर्ने भन्नेबारे पनि मैले मतदातालाई प्रस्ट पार्दै आएको छु ।
कञ्चनपुर–३ मा यी हुन् अन्य उम्मेदवार
यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र सिंह महता, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्णबहादुर चन्द, नेपाल मजदुर किसान पार्टीबाट मीनु गिरी, राष्ट्रिय जनमोर्चाबाट लालबहादुर कुँवर, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट कर्णबहादुर चन्द उम्मेदवार छन् । यस्तै श्रम संस्कृति पार्टीबाट गंगादत्त जोशी, मितेरी पार्टी नेपालबाट किरन थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट विष्णु प्रकाश उपाध्याय, उज्यालो नेपाल पार्टीबाट भिमबहादुर कुमाल, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट लोकराज भट्ट, आम जनता पार्टीबाट लक्ष्मी कुमारी विष्ट भट्ट उम्मेदवार छन् ।
यहाँ थानेश्वर लेखक, वीर सिंह क्षेत्री र हर्कबहादुर ऐरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस निर्वाचन क्षेत्रमा रहेका तमाम उम्मेदवारमध्ये पनि मतदाताले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबारे बढी चासो र चर्चा राख्दै आएको पाइन्छ । भीमदत्त नगरपालिकाका १९ वटै वडा, दोधारा चाँदनी नगरपालिकाको १० वटै वडा र बेदकोट नगरपालिकाको ८ नम्बर वडा यो निर्वाचन क्षेत्र अन्तर्गत पर्दछन् । यहाँ कुल एक लाख ३ हजार ८७ मतदाता सूचीकृत छन् ।रातोपार्टीबाट


