धनगढी — धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित राइजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुल को आठौँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ। स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाही को अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सचिव गणेश बहादुर सिंह रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले विद्यालयले छोटो अवधिमै शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रशंसा गरे। “स्थापनाको आठ वर्षमै यस विद्यालयले समुदायमा छुट्टै पहिचान बनाएको छ,” उनले भने, “गुणस्तरीय शिक्षा प्रदान गर्दै समग्र व्यक्तित्व विकासमा ध्यान दिनु प्रशंसनीय पक्ष हो।”
अध्यक्ष शाहीले विद्यालयको प्रगति, आगामी योजना र शैक्षिक लक्ष्यबारे जानकारी गराउँदै अभिभावक तथा समुदायको निरन्तर सहयोगकै कारण सफलता सम्भव भएको बताए। उनले आगामी दिनमा अझै स्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ र विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।
वार्षिकोत्सवको अवसरमा शिक्षा, स्वास्थ्य, समाजसेवा, पर्यटन तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा बुधराम चौधरी, शिक्षासेवी टेक बहादुर सिंह, गगन सिंह ऐर, भरत विक्रम शाह, भक्तराज जोशी तथा सह–प्राध्यापक डा. चिरञ्जिबी पन्त रहेका थिए। सम्मानित व्यक्तित्वहरूले विद्यालयको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अझै प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिएका थिए।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षासेवी, समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत तथा अन्य रचनात्मक प्रस्तुति मार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। आठौँ वार्षिकोत्सवले विद्यालयको शैक्षिक यात्रा, उपलब्धि र भविष्यका योजनालाई समुदायमाझ प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा विद्यालयको योगदानलाई थप मजबुत बनाउने सन्देश दिएको आयोजकले जनाएको छ।


