धनगढीः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू चुनावी घोषणापत्रसहित मतदातामाझ जान थालेका छन्। यसक्रममा कैलाली क्षेत्र नम्बर ३ का नेपाली कांग्रेस उम्मेदवार भीम बडुवालले मंगलबार सुखडमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
उनले पाँच वर्षभित्र कार्यान्वयन गर्न सकिने योजनालाई समेटेर १३ बुँदे प्रतिबद्धतापत्र तयार गरिएको जानकारी दिए। घोषणापत्रमा कान्द्रा नदी कोरिडोर निर्माणदेखि स्रोत व्यवस्थापनसम्मका योजना समावेश छन्। कैलारी, भजनी र घोडाघोडी नगरपालिकाका सबै वडामा शिक्षा, स्वास्थ्य, सुरक्षित बस्ती, रोजगारी र आधुनिक पूर्वाधारमार्फत दिगो विकास गर्दै जनताको जीवनस्तर उकास्ने लक्ष्य उल्लेख गरिएको छ।
कान्द्रा नदी कोरिडोरअन्तर्गत घोडाघोडीदेखि भजनीसम्म ३८ किलोमिटर तटबन्ध, नदी नियन्त्रण, हरित कोरिडोर र बाइरोड निर्माण तथा चक्लाबन्दीरकरार खेतीसहितको बहुउद्देश्यीय परियोजनालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने योजना सार्वजनिक गरिएको छ। डुबान तथा बाढी जोखिम क्षेत्रको नक्साङ्कन गरी मोहना, कान्द्रा, काढा, पथरैया, कटैनी र डोडालगायत नदीमा नियन्त्रण तथा तटबन्धन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
पूर्वाधार विकासअन्तर्गत विभिन्न वडामा पक्की पुल, सडक कालोपत्रे, ढल निकास, खेलमैदान र बसपार्क निर्माण गर्ने योजना राखिएको छ। शिक्षा क्षेत्रमा प्राविधिक तथा सिपमूलक शिक्षामा जोड दिँदै उच्च शिक्षामा पहुँच विस्तार र छात्रवृत्ति व्यवस्था गरिने उल्लेख छ। स्वास्थ्यतर्फ प्रत्येक पालिकामा १५ देखि २५ शय्याका सुविधा सम्पन्न अस्पताल स्थापना वा स्तरोन्नति, एम्बुलेन्स सेवा विस्तार, सिकलसेल रोगको निःशुल्क उपचार तथा पाँच लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता जनाइएको छ।
पर्यटन, भाषा, कला, संस्कृति र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै घोडाघोडी क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा अन्य पालिकाका प्राकृतिक ताल र धार्मिक स्थलको संरक्षण तथा प्रवर्द्धन गर्ने योजना समेटिएको छ। युवा रोजगारी, उद्यमशीलता प्रवर्द्धन तथा महिला, दलित, सुकुमवासी, मुक्त कमैया–कमलरी र पिछडिएको समुदायको सशक्तीकरणसम्बन्धी कार्यक्रम पनि घोषणापत्रमा समावेश छन्।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै २०४६ सालपछि सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिनसम्बन्धी कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका बडुवालले सुशासन, जवाफदेहिता, भ्रष्टाचारमुक्त राजनीति र समृद्ध कैलाली–३ निर्माण गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताए। कैलाली–३ मा घोषणापत्र सार्वजनिक गर्ने पहिलो दल नेपाली कांग्रेस बनेको छ।
अन्य दलहरूले पनि छिट्टै आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जनाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वीरमान चौधरीले माघ मसान्तसम्म घोषणापत्र ल्याइने बताए। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विक्रम चौधरीले पार्टी अध्यक्षमार्फत तयार हुने घोषणापत्र क्षेत्रगत आवश्यकताअनुसार प्रस्तुत गरिने जानकारी दिए। नेकपा ९एमाले० का उम्मेदवार गौरीशंकर चौधरीले पनि घोषणापत्र तयार भइसकेको र केही दिनमै सार्वजनिक गरिने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन ४ गतेसम्म घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।


