धनगढी । बाजेको सेकुवाको नयाँ शाखा धनगढीमा खुलेको छ। धनगढीको डिभोटी चोक नजिकै बाजेको सेकुवाको नयाँ शाखा खुलेको हो । विगत चार दशकदेखि काठमाडौं एयरपोटको चौरवाट सुरु भएको हो । सेकुवा परीकारमा नेपालका साथै अन्तराष्ट्रिय परीचयको रुपमा आफुलाई स्थापित गर्न सफल बाजेको सेकुवा फ्रान्चाईज मोडेल अवलम्वन गर्ने नेपालकै पहिलो रेष्टुरेण्ट हो ।
सेकुवाका लागि आवश्यक विभिन्न स्वच्छता, गुणस्तर र एकरुपताका मापदण्डहरु तयार पारी सोही मापदण्डहरु फ्रान्चाईजमा लागु गरी समय समयमा यसको निरिक्षण पनि गर्दछ । यसले गर्दा फ्राञ्चाईज रेष्टुरेन्टहरुले त्यही बाजेको सेकुवाको मौलिक स्वाद र सत्कार कायम गर्न सफल हुन्छन् । तर नेपाल सरकारले मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरणलाई व्यवस्थित गर्न बनाएको कार्यविधिविपरीत धनगढीमा एक शैक्षिक संस्थाको भित्तासँगै मदिरासहितको रेस्टुरेन्ट सञ्चालनमा आएको हो । उक्त रेस्टुरेन्टले मदिराको कारोबारका लागि आन्तरिक राजश्व कार्यालयबाट अनुमति लिइसकेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मदिरा तथा सुर्तीजन्य पदार्थ नियमन सम्बन्धी कार्यविधिअनुसार कुनै पनि शैक्षिक संस्थाको १ सय मिटरभित्र मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न पाइँदैन। उक्त कार्यविधिमा यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिइएको उल्लेख छ। तर ऐश्वर्या बहुमुखी क्याम्पसको भित्तासँगै जोडिएको भवनमै मदिरा बिक्री हुने रेस्टुरेन्ट सञ्चालनमा आएपछि कार्यविधिको पालना र नियमनमाथि प्रश्न उठेको छ। क्याम्पस परिसर नजिकै मदिरा बिक्री हुने स्थल सञ्चालन हुँदा विद्यार्थी वातावरणमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै स्थानीय अभिभावक तथा सरोकारवालाले चासो व्यक्त गरेका छन्।
उक्त सेकुवा घरको उद्घाटन आज गायक चक्र बमले गरेका हुन्। उद्घाटन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष, ऐश्वर्या बहुमुखी क्याम्पसका पूर्व प्रमुख, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। यस विषयमा धनगढी उपमहानगरपालिकाका सम्बन्धित निकायको औपचारिक धारणा आउन बाँकी छ। शैक्षिक संस्थाको नजिकै मदिरा बिक्री हुने रेस्टुरेन्ट सञ्चालनमा आउनुले स्थानीय तहको अनुगमन प्रभावकारितामाथि समेत प्रश्न चिन्ह खडा गरेको छ।
अब नियामक निकायले यस विषयलाई कसरी हेर्छन् र आवश्यक कदम चाल्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।


