अछाम । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले आफ्नो प्रतिबद्धता तथा भावी कामको रूपरेखा सार्वजनिक गरेका छन् । फागुन १ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा अछाम १ बाट उम्मेदवार बनेका रावलले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले आफ्नो प्रतिबद्धता पत्रमा ‘राष्ट्रिय प्रतिबद्धताको सन्दर्भमा जनताको हित र सुरक्षा’ शीर्षक अन्तर्गत ५ वटा बुँदा समावेश गरेको बताए ।
उनले भने, ‘यो कुनै क्षेत्रको उम्मेदवार हुनुको अर्थ खाली त्यहाँको विकास निर्माण, बाटोघाटोको कुरा मात्र आउँदैन, यो समग्र राष्ट्रिय दृष्टिकोण राख्नुपर्छ । समग्र राष्ट्रलाई नेतृत्व गर्ने, समग्र राष्ट्रका राजनीतिक, आर्थिक, सांस्कृतिक, परराष्ट्र सम्बन्धी, राष्ट्रिय सुरक्षा, औद्योगिक विकास, कृषि, शिक्षा, स्वास्थ्य समग्र कुराको बारेमा एउटा दृष्टिकोण राख्नुपर्छ ।’ उनले राष्ट्रियताको सवालका पार्टीको घोषणापत्रमा पनि आउने बताए । स्थायित्व, लोकतन्त्र, शान्ति र संवैधानिक सुधारको कुरा पनि अगाडि सारेको रावलले बताए ।
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण र राष्ट्रको समृद्धि, राष्ट्रको सर्वोपरि हितमा स्वतन्त्र परराष्ट्र नीति, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा सुधार र परिवर्तनलगायतको कुरा समेटिएको उनको भनाइ छ ।
अछामको भौतिक पूर्वाधारदेखि सुधार गर्नुपर्ने क्षेत्र सबैलाई समेटेको उनले बताए ।


