धनगढी। निर्वाचन आयोगकी आयुक्त डा. जानकी तुलाधरले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गराउन आयोग सक्रिय रूपमा लागेको बताएकी छन्। निर्वाचन आयोग नेपाल र नेपाल कानुन समाजको संयुक्त आयोजनामा धनगढीमा आयोजित निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई “लोकतन्त्रको पर्व” को संज्ञा दिँदै यसको सफलताका लागि सबै पक्षको सकारात्मक भूमिका अपरिहार्य रहेको उल्लेख गरिन्।
आयुक्त तुलाधरले निर्वाचन केवल निर्वाचन आयोगको मात्र जिम्मेवारी नभई राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र आम नागरिक सबैको साझा दायित्व भएको स्पष्ट पारिन्। “निर्वाचन आयोग रेफ्रीको भूमिकामा हुन्छ, खेलाडी भनेका राजनीतिक दल र उम्मेदवार हुन्,” उनले भनिन्, “खेलाडीले फेयर गेम खेले भने रेफ्रीले अन्तिम निर्णय मात्र दिन्छ। त्यसैले सबैले सही तरिकाले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्नुपर्छ।” उनले निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा गुनासो आइरहेको उल्लेख गर्दै आचारसंहिता विपरीत गतिविधि भएमा उजुरी दिने व्यवस्था रहेको बताइन्। “उजुरी परेमा छानबिन हुन्छ, उल्लंघन पुष्टि भए कानुनी कारबाही अघि बढाइन्छ,” उनले भनिन्। निर्वाचन आयोग स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले दोहोर्याइन्।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको गुनासो आएको उल्लेख गर्दै आयुक्त तुलाधरले आयोग आफैंले पनि सामाजिक सञ्जालको निगरानी गरिरहेको जानकारी दिइन्। “हामीकहाँ उजुरीहरू आइरहेका छन्, आवश्यक परे कारबाही प्रक्रिया पनि अगाडि बढ्छ,” उनले भनिन्, “निर्वाचन सफल बनाउन सबै सजक हुनुपर्छ। आयोगले आफ्नो संवैधानिक अधिकार पूर्ण रूपमा प्रयोग गर्छ, यसमा ढुक्क हुनुहोला।” कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा शार्कीले निर्वाचनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गराउन सबै पक्षको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताइन्। “हामी जो जहाँ छौँ, त्यहीँबाट निर्वाचन सफल बनाउन भूमिका खेल्नुपर्छ,” उनले भनिन्, “त्यसपछि मात्र जनताले अपेक्षा गरेको परिणाम प्राप्त हुन्छ।”
कार्यक्रममा नेपाल कानुन समाजका महासचिव तथा वरिष्ठ अधिवक्ता सजन राम भण्डारीले कार्यक्रमको उद्देश्य र सान्दर्भिकतामाथि प्रकाश पारेका थिए। यस्तै, नेपाल सरकारका पूर्व कानुन सचिव फणिन्द्र गौतमले निर्वाचन आचारसंहिता सम्बन्धी प्रस्तुतीकरण दिएका थिए भने निर्वाचन आयोगका उपसचिव विष्णु प्रसाद पौडेलले उम्मेदवारको खर्च व्यवस्थापनसम्बन्धी प्रस्तुती राखेका थिए। छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको भन्दै यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए।
सरोकारवालाहरूले निर्वाचन आयोगले बनाएको आचारसंहिता व्यवहारमा पूर्ण रूपमा लागू हुन नसक्दा मतदातामा नकारात्मक असर परेको उल्लेख गरे। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले आचारसंहिता पालना नगर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठ्न थालेको उनीहरूको भनाइ थियो। निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले मतदातालाई आर्थिक प्रलोभनमा पार्ने, प्रतिस्पर्धी उम्मेदवारविरुद्ध गलत टिप्पणी गर्ने, डर, धाकधम्की जस्ता अमर्यादित गतिविधि बढ्दै गएकोप्रति सहभागीहरूले गम्भीर चिन्ता व्यक्त गरे। यस्ता गतिविधिले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न थप चुनौती सिर्जना गरेको उनीहरूको निष्कर्ष थियो।
साथै, सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोग बढेकाले सम्बन्धित निकायले निगरानी र कारबाहीलाई थप कडा बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।


