धनगढी: नेकपा एमालेका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार यज्ञराज ढुंगानाले देशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। निर्वाचन प्रचार–प्रसारअन्तर्गत मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले अबको मुलुक पारदर्शी शासन प्रणालीतर्फ जानुपर्ने आवश्यकता औँल्याए।
ढुंगानाले आफू निर्वाचित भए भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापना गर्न सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाए। “आज देशका विभिन्न सरकारी अड्डाहरूमा कमिसन नदिई काम नहुने विकृति मौलाएको छ,” उनले भने, “मेरो प्रमुख एजेन्डा यही गलत परम्पराको निर्मूल गर्नु हो।”
उनले भ्रष्टाचारले विकासको गति अवरुद्ध गर्नुका साथै आम नागरिकको विश्वास कमजोर बनाएको उल्लेख गर्दै यसको अन्त्यका लागि कडा कदम चालिने बताए। “भ्रष्टाचारविरुद्ध दह्रो रूपमा उभिन म तयार छु, यसका लागि तपाईंहरूको साथ र समर्थन अपरिहार्य छ,” ढुंगानाले मतदातासँग आग्रह गरे।
भेटघाटका क्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राख्ने बताए। सुशासन कायम भए मात्रै विकास सम्भव हुने उल्लेख गर्दै उनले जनप्रतिनिधि स्वयं इमानदार र जवाफदेही हुनुपर्ने धारणा राखे।
स्थानीय बासिन्दाहरूले ढुंगानाको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिँदै भ्रष्टाचार नियन्त्रण र सेवाग्राहीमैत्री प्रशासन अहिलेको मुख्य आवश्यकता भएको प्रतिक्रिया दिएका छन्। निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी थप बढ्दै गएको छ।


