धनगढी । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा ९ वटा राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । विगतको मत परिणाम, उम्मेदवारको पृष्ठभूमि र दलगत समीकरणका कारण यसपटकको निर्वाचन निकै रोचक हुने देखिएको छ ।
कांग्रेसबाट अनुभवी नेता खड्का
डोटीमा नेपाली कांग्रेसबाट भरतबहादुर खड्का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । खड्का यसअघि संविधानसभामा समानुपातिकतर्फ प्रतिनिधित्व गरिसकेका छन् भने सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत भइसकेका अनुभवी नेता हुन् । २०७४ सालमा प्रदेशसभा सदस्य (क्षेत्र नं. १) बाट निर्वाचित भएका खड्का कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए । यद्यपि, बलियो संगठन भए पनि डोटीको मत परिणाम सधैं साँघुरो रहने भएकाले खड्कालाई निर्वाचन जित्न सहज भने छैन ।
एमालेको दाउ युवा उम्मेदवारमा
नेकपा एमालेले ३२ वर्षीय दीपक धामीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । अनेरास्ववियुको अध्यक्षसमेत रहेका धामी संगठनभित्र युवा नेतृत्वको रूपमा चिनिन्छन् । अनेरास्ववियुको सचिव, महासचिव हुँदै अध्यक्ष बनेका धामी आफूलाई युवाहरूको प्रतिनिधि र पाकाहरूको भरोसाको केन्द्र बताउँदै आएका छन् । कच्ची सडक, गुणस्तरीय शिक्षाको अभाव र उपचारका लागि बिरामीलाई स्टेचरमा बोकेर लैजानुपर्ने बाध्यता अन्त्य गर्नु आफ्नो मुख्य एजेन्डा रहेको धामीको भनाइ छ ।
त्रिलोचन भट्टको प्रवेशले थपियो रोचकता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट उम्मेदवार बनेपछि प्रतिस्पर्धा झनै चर्किएको छ । २०७४ सालमा एमाले–माओवादी गठबन्धनबाट प्रदेशसभा जितेर ५ वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका भट्ट अहिले आफ्नो कार्यकालका उपलब्धि देखाउँदै मतदाताको ढोका ढकढक्याइरहेका छन् । तर, मुख्यमन्त्री हुँदा प्रदेश राजधानी गोदावरी तोकेको विषयलाई लिएर उनीमाथि जिल्लामै आलोचना हुँदै आएको छ, जसले कति असर पार्ला भन्ने चासो बढेको छ ।
रास्वपाबाट नरेन्द्र खड्का दावेदार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नरेन्द्रबहादुर खड्का पनि यसपटक बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् । डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका खड्काले २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ६ हजार ६८९ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए ।
अघिल्लो निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका केशव बलायरले ७७४ मत मात्रै ल्याएका थिए । तर, यसपटक नरेन्द्र खड्काको व्यक्तिगत मत र रास्वपाको बढ्दो लोकप्रियता मिसिँदा नतिजा उल्टिन सक्ने विश्लेषण गरिएको छ ।
२०७९ को समानुपातिक मतले के भन्छ ?
डोटीको आगामी नतिजालाई २०७९ सालको समानुपातिक मत परिणामले धेरै हदसम्म संकेत गर्ने देखिन्छ । तथ्यांक हेर्दा यहाँ कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा निकै साँघुरो छ । २०७९ मा कांग्रेसले समानुपातिकतर्फ २२ हजार ५१६ मत ल्याउँदा एमाले २२ हजार ४५६ मत सहित पछ्याइरहेको थियो । दुई दलबीच मात्र ६० मतको अन्तर रहेकाले यसपटक पनि कडा टक्कर हुने संकेत गर्छ ।
उक्त निर्वाचनमा
माओवादी केन्द्र – ६ हजार ९ सय २४ मत
एकीकृत समाजवादी – २ हजार ३ सय ७३ मत
समानुपातिकमा पाएका थिए ।
अहिले माओवादी पृष्ठभूमिबाट आएका त्रिलोचन भट्ट उम्मेदवार बनेपछि ती वामपन्थी मतहरू कता ढल्किन्छन् भन्ने चासो बढेको छ । यदि ती मत भट्टले तान्न सके भने कांग्रेस र एमाले दुवैलाई धक्का लाग्न सक्ने आँकलन गरिएको छ ।
साना दल र मत विभाजनको सम्भावना
रास्वपाले समानुपातिकमा १ हजार २ सय ४८ मत पाएको भए पनि नरेन्द्र खड्काको व्यक्तिगत मत जोडिँदा यसपटक उल्लेख्य वृद्धि हुने अनुमान छ । यस्तै, राप्रपाले ९१० र राष्ट्रिय जनमोर्चाले ५६९ मत अघिल्लो निर्वाचनमा पाएका थिए, जसले मत विभाजनमा भूमिका खेल्न सक्ने देखिन्छ । डोटीमा यसपटकको प्रतिनिधिसभा निर्वाचन अनुभव, युवा जोश, वाम मतको समीकरण र स्वतन्त्ररनयाँ दलको प्रभावबीचको प्रतिस्पर्धा बनेको छ । २०७९ को झिनो मतान्तरलाई हेर्दा, एक–एक मत निर्णायक बन्न सक्ने अवस्था छ । अन्ततः डोटीको मतदाताले कसलाई विश्वास गर्छन् भन्ने कुरा फागुन २१ पछि मात्र स्पष्ट हुनेछ ।


