धनगढीः बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाएका सबै मृतकको अन्त्येष्टि सम्पन्न गरिएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–७ बडूगाउँमा बिहीबार अपराह्न जन्ती बोकेको बस दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका थिए। मृतकहरूको आज विभिन्न स्थानका घाटमा अन्त्येष्टि गरिएको हो।
बझाङको बित्थडचिर गाउँपालिका–७ का आठ जनाको कालङ्गा आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ। सहोदर दाजुभाइ नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी र वसन्तराज जोशी, बाबु–छोरा केशवराज जोशी र अशोकराज जोशी, सहोदर दाजुभाइ किसनदत्त जोशी र विसनदत्त जोशी तथा आफन्त दीपकराज जोशीको एउटै घाटमा अन्त्येष्टि गरिएको हो।
यस्तै, बझाङको जयपृथ्वी नगरपालिका–७ का वसन्तराज रतालाको चैनपुरमा अन्त्येष्टि गरिएको छ भने बुवा–छोरा मोहनदेव भट्ट र केशवराज भट्टको केदारस्यूँ गाउँपालिका अन्तर्गत बागथला आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
दुर्घटनामा ज्यान गुमाएकी पुर्चौडी नगरपालिका–७ की पुष्पा अवस्थी तथा बेहुलीका १४ वर्षीय भाइ सुशील जोशीको पुर्चौडीस्थित राताशीला आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
बिहीबार अपराह्न बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए।
घाइतेमध्ये हालसम्म १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। अन्य घाइतेहरूको डडेल्धुरा र धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


